महिला कैदीबन्दीद्वारा आयमुलक सीपको माग

  ०७३ चैत १४ गते

जिल्ला कारागार सल्यानका कैदीबन्दी महिलाहरूले कारागार भित्र प्रौढ कक्षा सञ्चालन र  आयमुलक सीप सिकाउन माग गरेका छन् ।

'अक्षर चिन्नु पर्ने सबै भन्दा अनिवार्य रहेछ भन्ने कुरा बल्ल बुझियो ।'-कैदी जिवन बिताइरहेकी ३२ वर्षीया सीता बस्नेतले भनिन्-'आफन्तजनलाई फोन गर्नु पर्दा अरू मानिसलाई मोबाइल नम्बर हान्दिनुस भन्नु पर्छ । सल्यान जिल्ला साक्षर घोषणा भइसकेको छ रे ! तर, हामीलाई भने अक्षर चिन्न पनि आउँदैन ।'

आफूसँग कुनै सीप नभएका कारण कारागारमा दिनभर त्यसै बस्नु परेको बताउँदै आयमुलक सीप सिकाउने व्यवस्था मिलाइदिन उनले अनुरोध गरिन् ।

उच्च अदालत सुर्खेतका न्यायधीश गुडराज ढुङ्गेलको नेतृत्वको टोलीले चैत १४ गते गरेको अनुगमनका क्रममा उनीहरूले यस्तो माग गरेको जेलर विक्रम केसीले बताए । हाल कारागारमा १५ जना महिला, ७० जना पुरूष र दुई जना नाबालक रहेको जेलर केसीले बताए ।

जिल्ला स्थित कार्यालयमा कानुन बमोजिम काम कारबाही भए नभएको बारेमा अनुगमन गर्न उच्च अदालतको टोलीले जिल्लास्थित सरकारी कार्यालयको अनुगमन गरेको जनाएको छ ।


मिना बुढाथोकी