महिला आयोगद्वारा सप्तरीमा अन्तरसम्वाद

  ०७३ मङ्सिर १३ गते

समाजमा व्याप्त रहेको लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्धेश्यका साथ राष्ट्रिय महिला आयोगले मङ्सिर १३ गते राजविराजमा सरोकारवालाहरूसँग अन्तरसम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।

'घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासको लागि लैङ्गिक हिंसारहित समाज' भन्ने मूल नाराका साथ चलिरहेको १६ दिने अभियानमा हिंसा रोकथामका लागि सबैको सहयोगको अपेक्षा गर्दै सरोकारवालाहरूसँग आयोगले अन्तरसम्वाद गरेको हो ।

आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरे, प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, महिला आयोगका सचिव रामप्रसाद भट्टराई, स्थानीय विकास अधिकारी सुदेव पोखरेललगायतले समाजमा भइरहेको लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी शासन कायम गर्न सबैको भूमिकामा जोड दिए ।

सो अवसरमा आयोगका सचिव भट्टराईले देशमा ५१ प्रतिशत महिला भएपनि महिलाका नीतिगत कुरामा राज्य अझै स्पष्ट नरहेको भन्दै चिन्ता व्यक्त गरे ।

महिला तथा बालबालिका कार्यालयको समन्वयमा सम्पन्न कार्यक्रममा राजनीतिक दल, पत्रकार, अधिकारकर्मी, आयोगका पदाधिकारी र कर्मचारीहरूको उपस्थिती रहेको थियो । सहभागीहरूले समावेशीको आधारमा राज्य तथा आयोगले निर्णय गर्नुपर्ने र गाउँ-गाउँमा जनचेतना जगाउनुपर्नेमा जोड दिए ।


मनोहरकुमार पोखरेल