महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र सोंच बदल्न सकेमात्र महिला हिंसा अन्त्यः मुख्यमन्त्री

  ०७६ वैैशाख २५ गते

महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र सोंच बदल्न सकेमात्र महिला हिंसा अन्त्य हुने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जोड दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ कार्यालयले वैशाख २४ गते बुटवलमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानव अधिकारको संरक्षण एवम् सुरक्षामा नेपाल प्रहरीको जबाफदेहिता’ विषयक राष्ट्रिय अभियानमा मुख्यमन्त्री पोखरेलले उक्त कुरामा जोड दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले विश्वका ठूलाठूला राष्ट्रहरूले प्रतिबद्धता गर्न नसकेको काम नेपालले प्रतिबद्धता गरेर कार्यान्वयन गरेको र नेपालको संविधानले पनि महिलाको पक्षमा धेरै व्यवस्था गरेको बताए ।

पोखरेलले भने–‘१९ औँ शताब्दीमा मानव अधिकारको उल्लङ्घन राज्य पक्षबाट मात्र हुन्थ्यो अहिले त्यस्तो छैन । राज्यलाई चुनौती दिँदै गैरराज्यबाट सङ्गठित रूपमा मानिसकोे बाँच्न पाउने अधिकार खोसिएकाले जबाफदेही बनाउनका लागि मानव अधिकार आयोग लाग्नुपर्छ ।’

कार्यक्रममा प्रदेश ५ का आर्थिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार र मौलिक हकको विषयलाई जनताले बुझ्ने गरी विश्लेषण तथा सार्वजनिकीकरण गर्नुपर्ने बताए ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले समाजमा उपभोक्तावाद, समाजवादको उदय हुनु र महिलालाई उपभोग्य वस्तुको रूपमा लिने पितृसत्तात्मक चिन्तनले महिलालाई सधैँ दोस्रो दर्जाको नागरिकको रूपमा स्थापित गरेको धारण राखेका थिए  ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालयका एआइजी पुस्कर कार्कीले मानव अधिकारको संरक्षण गर्ने कामको अग्रपङ्क्तिमा नेपाल प्रहरी भएकोले संविधानले व्यवस्था गरेका अधिकारको प्रयोग गर्दे कानून बमोजिम कार्यान्वयन गरेको बताए ।

उनले नेपाल प्रहरीमा केही समस्याहरू रहेको स्वीकार गर्दै पछिल्लो समयमा कमजोरीहरू सुधार हुँदै आएको बताए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरूलाई राज्यले १३ प्रतिशत मात्र कार्यान्वयन गरेकोमा चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा साविक लुम्बिनी अञ्चलका ६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

photo20190508rupandehi (1)

photo20190508rupandehi (2)

photo20190508rupandehi (3)

photo20190508rupandehi (4)

photo20190508rupandehi (5)


रीमा बिसी