महिलालाई कुटपिट गरेको सूचना पाएर घटनास्थल पुगेका प्रहरीमाथि आक्रमण

  ०७७ जेठ ४ गते

कटहरिया नपा—८ पोखरीया टोलमा जेठ २ गते राति महिलामाथि कुटपिट भइरहेको घटना साम्य पार्न गएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंह, हवल्दार रामचन्द्र तिवारी र प्रहरी जवान रंजित यादवमाथि स्थानीय युवाहरुले आक्रमण गरेको छ ।

प्रहरीमाथि आक्रमण गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटहरिया नपा–८ का २५ वर्षीय श्रीचन साह, सोही ठाउँका ३२ वर्षीय बच्चेलाल साह, ३७ वर्षीय लालबाबु ठाकुर र ६० वर्षीय प्रतापबिक्रम साहलाई गिरफ्तार गरेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनु भयो ।

कटहरीया नपा–८ की १४ वर्षीया बालिकालाई स्थानीय व्यक्तिहरुले जिस्क्याउँदै दुव्र्यवहार गरेको विरोध गरेका स्थानीय महिलालाई कुटपिट गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटहरियाका सई सिंहको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय व्यक्तिहरुले महिलालाई  अचेत हुनेगरी कुटपिट गरेको थियो । प्रहरी हवल्दार रंजित यादवले ती महिलालाई नियन्त्रणमा लिएपछि करिब २ दर्जन स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए । सई सिंहका अनुसार महिलालाई कुटपिट गरिरहेका व्यक्तिहरुले प्रहरीको हातमा रहेको लठ्ठी खोसेर प्रहरीमाथि नै आक्रमण गर्नुका साथै ढुङ्गामुडा गरेको थियो ।

त्यस लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाबाट थप प्रहरी परिचालन गरिएको र प्रहरीले चार जनालाई गिरफ्तार गरी अनुसन्धान अघि बढाएको सई सिंहले बताउनु भयो ।

आक्रमणमा परि घाइते भएको प्रहरीहरुको कटहरिया स्वास्थ्य केन्द्रमा उपचार भएको डिएसपी महत्तोले बताउनु भयो । प्रहरीका अनुसार स्थानीय केहि व्यक्तिको कुटपिटबाट घाइते भएकी महिलाको कटहरियास्थित अस्पतालमा उपचार भइरहेको छ । आरोपितहरुलाई जेठ ३ गते हाजिरी जमानतमा कोभिड १९ को लकडाउन पछि उपस्थिति हुने गरी छोडिएको डीएसपी महत्तोले बताउनु भयो ।


कोपिला तिमल्सिना