महिलामाथि एसिड प्रहार गरेको कसुरमा चार वर्षकैदको फैसला

  ०७६ जेठ २८ गते

महिलामाथि एसिड प्रहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २७ गते नेपालगञ्ज उपमनपा-६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले घोराही उपमनपा-१७ की २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै चार वर्ष कैद, १ लाख रूपियाँ जरिवाना र पीडितलाई १ लाख ४५ हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको हो । साथै अदालतले जरिवाना स्वरूपको १ लाख रुपियाँ पनि पीडितलाई नै उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपाईले बताए । आरोपित उपर ज्यानमार्ने उद्योगको आरोप नठहरे पछि ०७३ फागुन १३ गते अदालतले कुटपिटमा परिणत गरेको थियो । उक्त घटनाका अन्य आरोपित घोराही उपमनपा-१७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने अदालतले सफाइ दिएको छ । २०७२ फागुन २७ गते साँझ पसलमै बसेको बेला रीता चौधरीमाथि एसिड प्रहार भएको थियो । एसिड प्रहारबाट पीडितको छाती तथा घाँटीको भाग जलेको थियो ।


जे.एन.सागर