महिलाको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्ने बाटोमा अग्रसर हुन आग्रह

  ०७६ फागुन ३० गते

१ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयले महिलाको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्ने बाटोमा अग्रसर होस् भनि शुभकामना व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष “समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

इन्सेक प्रदेश २ संयोजक राजु पासवानले फागुन २५ गते जारी गर्नु भएको प्रेस विज्ञप्तिमा प्रदेश २ मा महिलाहरूमाथि हुँदै आएको हिंसामा कमी आएको भएपनि सन्तोषकजनक अवस्था नरहेको बताइएको छ ।

इन्सेकले अभिलेखिकरण गरेको घटनाहरूमध्ये प्रदेश २ मा सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ७ सय ३० जना पीडित भएको उल्लेख छ । प्रदेश २ मा घटेका घटनामा ४ सय ३६ जना महिला हिंसामा पीडित भएको बताइएको छ ।

अभिलेखित घटना अनुसार बेचविखन तथा ओसारपसार घटनामा १२, कथित बोक्सीको आरोपमा १४, बलात्कार घटनामा २ सय ४, बलात्कार प्रयास घटनामा २३, बहुविवाह घटनामा ६९, घरेलु हिंसाका घटनामा ४६, यौनदुव्र्यवहार घटनामा ६०, बालविवाह घटनामा आठ जना पीडित भएको घटना इन्सेकमा अभिलेख भयो । सन् २०१८ मा ४ सय ४७ जना पीडित भएको अभिलेख भएको थियो ।

महिलाहरूमा ब्याप्त लैंगिक हिंसा, भेदभाव, बालविवाह, दाइजो जस्ता कुरिती जन्य घटनाहरु भएकाले आउने दिनमा यस्ता घटनामा न्युनिकरणका लागि ग्रामीण तहसम्म सचेतनाका कार्यक्रम गर्नुपर्ने इन्सेकले जनाएको छ ।

हिंसामा परेका महिलाहरूले सहजै न्याय पाउने वातावरण अझै बन्न नसकेको भन्दै मानवअधिकारकर्मीहरूको अभियान, राजनीतिक परिवर्तन र महिला हिंसा न्युनिकरण सम्बन्धी सचेतनाले महिला हिंसाका घटना बाहिर ल्याउन मद्दत पुगेको इन्सेकले जनाएको छ ।

photo20200313dhanusha


दिपेन्द्रप्रसाद सिंह