महिनावारी हुँदा खुल्ला आकाशमुनि बस्न बाध्य

  ०७६ असोज २४ गते

महिनावारी भएका बेला हुम्लाका महिलाहरू काठको अस्थायी कटेरोमा बस्न बाध्य हुँदै आएका छन् ।

सामाजिक तथा धार्मिक मान्यता अनुसार महिनावारीका बेला घरमा बस्न नपाइने भएपछि उनीहरू घरको देवाललाई सहायता लिँदै खुल्ला आकाश मुनि काठको अस्थायी कटेरो बनाएर बस्न बाध्य भएका हुन् ।

बर्खाभरी खुल्ला आकाश मुनि बस्नु परेको भएपनि पानी पर्न थालेपछि काठको अस्थायी कटेरो बनाएर महिनाको एक पटकको करिब ६ दिन त्यहीँ भित्र बसेर रात काटेको पिडा सिमकोट गाउँपालिका–८ की स्थानीय धनकला शाहीले बताइन् ।

पानी पर्दा ओत लाग्ने किसिमले बस्ने व्यवस्था महिलाहरूले आफैँ गर्ने गरेका छन् । गाउँघरमा महिनावारी भएको बेला अधिकांश महिलाहरू यसरी नै बसेको पाइन्छ ।

उनीहरू हिउँदमा महिनावारी हुँदा छाउ गोठमा एक हप्तासम्म बस्ने गर्छन् भने बर्खाका बेला यस्ता कटेरामा चुहिएको पानीमा भिज्दै बस्ने गरेको खार्पुनाग गाउँपालिका–३ की स्थानीय जानकी फडेराले बताइन् ।

त्यति मात्र नभएर यसरी काम चलाउ कटेरोमा बस्दा महिलाहरूले अन्य समस्या पनि भोग्ने गरेको उनको भनाई छ ।

यहाँ महिनावरी हुने महिलादेखि युवतीसम्म यसरी काठको कामचलाउ कटेरोमा सुत्ने गर्छन् । यसरी बस्नु पर्दा आफूहरूले असुरक्षित महसुस गर्ने उनीहरूको गुनासो छ ।

जिल्लामा लामा समुदायका महिला बाहेक अन्य सबै जातिका महिलाहरूको यो साझा समस्या एउटै छ ।


नन्द सिंह