महिनावारी हुँदा कक्षाकोठामा बस्दैनन् शिक्षक र विद्यार्थी

  ०७६ असोज १३ गते

तातोपानी गाउँपालिका–८ बाँरागाउँ बस्ने १८ वर्षीया मुगा रावत कक्षा ७ मा पढ्छिन् । गाउँकै जनजागृती आधारभुत विद्यालयमा पढ्ने मुगालाई महिनावारी भएको अवस्थामा विद्यालयको मुलढोका भन्दा अगाडि जान आँट आउँदैन ।

सो विद्यालयमा अध्ययनरत मुगा रावत जस्तै अन्य छात्रा विद्यालयको मुलढोका नजिकको कुनामा बसेर अध्ययन गर्ने गर्दछन् ।

कक्षाकोठा भित्र नगएर बाहिरै घाममा बसेर अध्ययन गर्ने उनीहरूलाई पानी परेपछि नपढी नै घर जानुपर्ने बाध्यता छ ।

महिनावारी हुँदा आफू कक्षा भित्र नजाने गरेको र गएमा देवता रिसाउने र विद्या हराउने भ्रममा मुगा छिन् ।

सोही कारण विद्यालयको कक्षाकोठा भित्र नजाने गरेको उनले बताइन् । ‘महिनावारी भएको कम्तीमा पाँच दिन नहुन्जेल कक्षाभित्र जाने गरेका छैनौँ ।’–उनले भनिन् ।

मुगासँगै खुल्ला चौरको घाममा बसिरहेका हाँसकुरा रावत, अनिसा रावत र अन्जली रावतले पनि आफुहरू महिनावारी भएको अवस्थामा विद्यालय नआउने र आएपनि कक्षाकोठा भित्र नजाने गरेको बताउँछन् ।

हाँसकुरा रावत भन्छिन्–‘कति पटक त बाहिर बसेको बेला पानी परेर बीचमै पढाई छोडी घर जानु परेको छ । हप्तादिन भित्र कुनै न कुनै एकजना छात्रा महिनावारी हुन्छन्, महिनावारी भएर विद्यालय आएपछि मुलढोका भन्दा अगाडि जादैनौँ ।’

विद्यालय स्थापना गर्नु पहिले नै सो विद्यालयमा विभिन्न देविदेवताका मन्दिर रहेका थिए । विसं २०५१ सालपछि सो ठाउँमा विद्यालय स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष शेरबहादुर रावतले बताए ।

महादेवका झाँक्रीसमेत रहेका रावतले भने–‘अन्य ठाउँमा विद्यालय स्थापनाका लागि जग्गा नपाएपछि यही ठाउँमा विद्यालय निर्माण गरेका हौँ ।’

महिनावारी भएका छात्रा र शिक्षिका देवताको मन्दिर भएको ठाउँमा र कक्षाकोठा भित्र जाँदा बिरामी हुने भएको समस्या बढिरहेको उनले दावी गरे ।

विद्यालयमा ‘महिनावारी बार्ने प्रथा’ विकराल हुँदै गएपछि विद्यालय सार्नुको विकल्प नरहेको स्थानीय बताउँछन् ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रराज गिरीले अन्धविश्वास मानेर पढाइमा बाधा पुर्‍याउनु गलत भएको बताए । विद्यालयमा भएको सो घटनाले समाज कुन तहमा छ ? भन्ने विषय स्पष्ट पारेको गिरीको भनाई छ ।


मानदत्त रावल