महिनावारी भएको अवस्थामा विद्यालय जान नपाएको छात्राहरूको गुनासो

  ०७६ वैशाख ३१ गते

केआई सिंह गाउँपालिका–५ रानागाउँ जमलकटियास्थित भुवनेश्वरी माविमा अध्ययरत छात्राहरूले महिनावारी भएको बेला महिनाको चार दिन विद्यालय जानबाट वञ्चित रहनु परेको गुनासो गरेका छन् ।

विद्यालय परिसर भित्र नै देवी देवताका मन्दिर रहेकाले आफूहरू महिनावारी भएको अवस्थामा विद्यालय जान डराउने गरेको कक्षा ९ मा अध्ययनरत छात्रा निर्मला भट्टले बताइन् ।

विद्यालयको उत्तर दक्षिण र पश्चिम कुनामा  देवी देवताका मन्दिर स्थापना गरिएका कारण देवता रिसाउने  डरले महिनावारी भएको बेला विद्यालयमा आउन आफैँलाई डर लाग्ने गरेको छात्रा शारदा जोशीले दुखेसो गरिन् ।

सामाजिक अन्धविश्वास र परम्पराका कारण अहिले पनि महिनावारी भएको समयमा छात्राहरू विद्यालय नआउने गरेको कारण उनीहरूको बढाई कमजोर हुँदै गएको शिक्षक टेकराज जोशीले बताए ।

महीनावारी भएको बेला अभिभावकले नै छोरीहरूलाई विद्यालय जान रोक लगाएका कारण विद्यालय आउन चहाने छात्राहरू आउन नसकेको र आफूहरूले गरेको प्रयास समेत असफल भएको भुवनेश्वरी माविका प्रध्यानाध्यापक रमेश शाहीले बताए ।

उनले भने–‘छाउपडी भएको समयमा विद्यालय जान नदिनु कानुनी रूपमा समेत दण्डनीय अपराध हो । तर, सामाजिक रूपमा छाउपडी कुप्रथालाई स्वीकार गरिएको छ । यसले हामीलाई पनि लज्जित तुल्याएको छ ।’

विद्यालयमा पढाउने शिक्षिकाहरू समेत महिनवारी भएको अवस्थामा विद्यालयमा खुलेर आउन डराउने गरेका छन् ।

च्ोतनाको अभावले अभिभावकहरूले महिनावारी भएको बेला छोरीहरूलाई विद्यालय नपठाउने गरेको कारण यस प्रकारको कुप्रथालाई हटाउनका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, सामाजिक सङ्घसस्थाको महत्वपूर्ण भुमिका रहने वडा अध्यक्ष रामचन्द्र राणाले बताए ।

विद्यालयमा २ सय ५० जना विद्यार्थीमध्ये ३०–४० जना छात्राहरू महिनावारी हुने गरेको र उनीहरू महिनाको चार दिन विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।


बासुदेव जोशी