महान्यायधिवक्ताको कार्यालयबाट राप्तीका कारागार र हिरासतको अनुगमन

  ०७३ मङ्सिर ३ गते

महान्यायधिवक्ताको कार्यालय काठमाडौँले मङ्सिर ३ गते जिल्ला कारागार सल्यान र प्रहरी हिरासतको अनुगमन गरेको छ ।

कैदीबन्दीहरूको मानव अधिकारको अवस्था, ज्यादती तथा उनीहरूले भोगेका समस्याबारे टोलीले अनुगमन गरेको जनाएको छ । सह न्यायाधिवक्ता गिताप्रसाद तिमल्सिना र सहन्याधिवक्ता खेमराज ज्ञवालीसम्मिलित महान्यायधिवक्ताको कार्यालयको टोलीले जिल्ला कारागार र प्रहरी हिरासतको अनुगमन गरेको जिल्ला न्यायधिवक्ता विमल गौतमले जानकारी दिए ।

टोलीले दाङ, रूकुम र सल्यान जिल्लाका कारागार र हिरासतमा रहेका कैदीबन्दीहरूसँग भेट गरेको पनि जनाएको छ । टोलीले अनुगमनका क्रममा भेटिएका मानव अधिकार हनन्, ज्यादती तथा समस्याहरूलाई तत्काल समाधानका लागि नेपाल सरकारलगायत सम्बन्धित निकायलाई अनुरोध गर्ने र निर्देशन दिनेसमेत जनाएको छ ।

टोलीले अनुगमनका क्रममा भेटिएका गम्भीर खालका मुद्दालाई प्रतिवेदन बनाएर सरकारलाई बुझाउने पनि जनाएको छ ।


मिना बुढाथोकी