मरिण गाउँपालिकाका सबै वडाहरू सचिवविहीन

  ०७६ कात्तिक २१ गते

मरिण गाउँपालिकाका सबै वडा कार्यालय अढाई वर्षदेखि सचिवविहीन छन् । सरकारले पटकपटक गरी कर्मचारी समायोजन गरे पनि यहाँका वडाहरूमा सचिव छैनन् ।

वडामा सचिव नहुँदा वडाका कामकाज समयमा सञ्चालन गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ ।

२०७३ फागुन २७ गतेबाट साविक कपिलाकोट, कल्पवृक्ष र महादेवस्थान गाविसलाई समेटेर मरिण गाउँपालिकाको गठन भएको र सात ओटा वडा रहेको उक्त गाउँपालिकामा दरबन्दी अनुसारको सचिव नपाएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए ।

सबै वडा कार्यालयहरू सहायक स्तरका कर्मचारीको भरमा चलिरहेको उनले बताए । वडा कार्यालयको सचिव सुब्बास्तरको हुने व्यवस्था भएपनि खरदार स्तरका कर्मचारी समेत कार्यालयमा नहुँदा सहायक स्तरका कर्मचारीले कार्यालय चलाउन परेको उनले बताए ।

दरबन्दीका सचिवहरू नहुँदा स्थानीय सरकारले चाहे अनुसारका काम गर्न समेत नसकेको अध्यक्ष बम्जनले  बताए ।

कतिपय निर्णयहरू कार्यान्वयन गर्ने र काम गर्ने सिलसिलामा तल्लो तहका कर्मचारी मात्र हुँदा समस्या हुने गरेको पनि उनले बताए ।

‘हामीले प्रदेश र सङ्घीय सरकारलाई पटक–पटक दरबन्दी अनुसारका कर्मचारी पठाइदिन आग्रह गर्दा पनि सुनुवाइ भएको छैन ।’–उनले भने ।


बिमला पाण्डे