मन्दिर, विद्यालयहरूमा पोस्टर टाँसिने क्रम बढ्यो

  ०७४ मङ्सिर १४ गते

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिसँगै सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचार प्रसारलाई तीव्र बनाएका छन् । राजनीतिक दलहरूले साँझ सात बजेपछि पनि बैठक, भेला गरी प्रचार प्रसार गरिरहेका छन् ।

उम्मेदवारहरू र राजनीतिक दलहरूले अनुमति नलिई नियम भन्दा बढी चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलहरूको प्रयोग गरिरहेको र आचारसंहिता विपरीत ठूला आकारका व्यानर र झण्डा प्रयोग गरिरहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले कात्तिक ३० गते मुख्य चोकहरूमा टाँगिएका व्यानर र कार्यालयहरूमा टाँसिएका पोस्टरहरू हटाएकोमा दल तथा उम्मेदवारहरूले पुनः पोस्टरहरू टाँसेका छन् ।

राजपाका तर्फबाट प्रदेश सभाका उम्मेदवार मनीषकुमार सुमन र एकीकृत राप्रपा (राष्ट्रवादी) का उम्मेदवार प्रभानन्द मेहताले राजविराज नपा-३ स्थित के.अ. मावि र राजविराज नपा-५ स्थित दुर्गा सेकेण्ड्री स्कूलमा, स्वतन्त्र उम्मेदवारहरू कमालउदिन मियाँले राजविराज नपा-७ स्थित रा.प्रा. वि. खैरसालमा, अरूणकुमार देवले राजविराज नपा-७ स्थित भगवती मन्दिरमा र प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले राजविराज नगरपालिकाका कार्यालयमा छ्याप्छ्याप्ती पोस्टरहरू टाँसेका छन् ।

निर्वाचन आचारसंहिता २०७२ मा कुनै मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च वा धार्मिक स्थल तथा विद्यालय, कार्यालय प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न गराउन नहुने उल्लेख छ ।


मनोहरकुमार पोखरेल