मन्थली नगरपालिका प्रमुखमाथि कार्यपालिका बैठकमै आक्रमण

   ०७६ असार ३ गते

मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतलाई ०७६ असार २ गते नगर कार्यपालिका बैठक चलिरहेको बेला कार्यपालिका सदस्यहरूले आक्रमण गरी घाइते बनाएको छन् ।
मन्थली नगरपालिकाले ०७६ असार २ गते पत्रकार सम्मेलन गरि सो घटनाका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नगरप्रमुख बस्नेतले काम नै नगरेका पुराना योजनाको रकम भुक्तानी हुनुपर्ने माग उठाउँदै वडा नं ५ का वडाअध्यक्ष रामबहादुर कार्की, वडा नं १२ का वडाअध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालिका सदस्य उद्धव रम्तेललगायतले कुर्सी, नेमप्लेट, चियाको ग्लास, पानीका बोतल लगायतले आक्रमण गर्दा आफ्नो टाउकोमा चोट लागेको बताए ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा नगर कार्यपालिकाको २७ औँ बैठक सञ्चालन भइरहेको बेला आवश्यक विधि प्रक्रिया पूरा नगरेको हुँदा वडा नं ५ को अघिल्लो आर्थिक वर्षमा सञ्चालित योजना र कार्यक्रमको भुक्तानी गर्न नसकिने देखिएकोले त्यस बारेमा छलफल हुँदा केही कार्यपालिका सदस्यले जसरी भए पनि भुक्तानी दिनुपर्ने भन्दै नगरप्रमुखमाथि आक्रमण गरिएको उल्लेख छ ।
कसैले धम्याउने, आक्रमण गर्ने वा वल देखाउने कार्यले आफू विचलित नहुने नगरप्रमुख बस्नेतले पत्रकार सम्मेलनमा बताए ।


नवराज पथिक