मन्त्रीकै कार्यकक्षमा सचिवमाथि कुटपिट गरेको पीडित पक्षको आरोप

  ०७५ पुस २९ गते

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिव विद्यानाथ झामाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव ५० वर्षीय विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेको पीडितले बताए ।

सङ्घीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए । मन्त्री यादवले सचिवमाथि हातपात गर्दा सभामुख सरोज यादव पनि मन्त्रीकै कार्यकक्षमा रहेका पीडितले बताए ।

मन्त्रीबाट कुटाई खाएका सचिवलाई भने प्रहरीले पुस २९ गते गिरफ्तार गरेको छ । क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ ओटा गैरसरकारी संस्थाहरूले आशय पत्र दिएकोमा ४० वटा संस्था छनोट गरिएको थियो ।

मन्त्री यादवले सिफारिस गरेको एनजीओको नाम भने खुलाइएको छैन । सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरूले मन्त्रालयको मुख्य ढोकामा धर्ना दिएका थिए ।

केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रूपमा खटाइएको थियो ।

मन्त्री यादवले भने सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् । मन्त्री यादवले आफ्नो कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको बताए ।


विनोदकुमार रविदास