मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरू वैकल्पिक व्यवसाय खोज्दै !

  ०७६ मङ्सिर २८ गते

कलिलो उमेरमा काम खोज्दै सिन्धुपाल्चोकबाट रोजिना (परिवर्तित नाम) काठमाडौँ झरिन् । बिरानो शहरमा उनको आफ्नो भन्ने कोही थिएन ।

बल्लतल्ल उनले गाउँकी एकजना दिदी भेटिन् । रोजिनालाई तिनै दिदीले ठमेलको एक बारमा डान्सरको काम लगाइदिइन् ।

निम्न आर्थिक अवस्था भएर कक्षा ८ सम्मको अध्ययन गरेकी उनले केही समय काठमाडौँका गल्लीहरूमा खुलेका डान्सबारमा लुकेरै काम गरिन् । उनी कसैले के काम गर्छौँ भन्दा पसलमा भन्दै ढाँट्ने गर्थिन् ।

नागरिकता ल्याए काममा राख्ने बताउने ब्यवसायीहरूकै कारण उनले आफ्नो उमेर बढाएर काम गर्दै आफू बाँच्दै ती सञ्चालकहरूको पेशा पनि बचाई दिइन ।

रोजिना जस्तै कलिला किशोरीहरूको श्रमले ति सञ्चालकहरूले मनग्गे आम्दानी गरे । तर, रोजिनाको हातमा भने महिनाको ५ हजार रुपियाँ हात पर्थ्यो ।

जसबाट कोठा भाडा, खानपिन लगायतका सबै खर्च टार्नुपर्ने बाध्यता थियो उनलाई । खर्च टार्ने र सहज जीन्दगी जिउने आशामा ठमेल, नयाँबजार, दरबारमार्ग लगायतका धेरै बारहरू चहारिन् ।

तर, उनको त्यो सपना कहिल्यै पुरा भएन । त्यही बिचमा बिहे गरेकी उनको हाल दुई ओटा बच्चा छन् । कमाउन भन्दै विदेश गएका श्रीमान पनि टाढिए ।

कठिन अवस्थामा काम गरेकी रोजिनालाई अहिले आफुले काम गर्दै आएको ठाउँबाट उमेर बढी भएको र रूपलाई मात्र मान्यता दिँदै निकालिएकोमा उनी दुखी छिन् ।

आठ वर्षसम्म काम गरेकी रोजिनालाई अहिले के काम गर्ने र जीविकोपार्जन गर्ने र घर चलाउने भन्ने अन्यौलता बढेको छ ।

‘उमेर रहुञ्जेल सबैले काम दिए । तर अहिले दुई बच्चाकी आमा भएपछि बुढी भन्दै निकाले । अब अरू के काम गर्ने ? हाम्रो समस्या कसले बुझिदिने ?’ उनि प्रश्न गर्दै भन्छिन्–‘आफ्ना भन्ने सबै पराई भए । रूप रहेसम्म मात्र हामि जस्ता महिलाको काम रहेछ । अब सबै सकियो ।’

उनी जस्ता थुप्रै महिलाहरू छन जो कुनै सिप नसिकी मनोरञ्जन क्षेत्रमा नै भविष्य खोजिरहेका छन् । नत उनीहरू समाजमा खुलेर आफ्नो काम भन्न सक्छन्, नत आफ्नो सीप र श्रमले केही गरेर नै खान सक्छन् । यहि समस्याले गर्दा अवैध कार्य बढ्ने गरेको कतिपयको बुझाइ छ ।

मनोरञ्जनको क्षेत्रमा भएका धेरै हिंसाका बारेमा त कसैले सुन्दैनन त कसैले सुनिहाले पनि काम गर्नेलाई नै गलत ठान्ने गरेको पाइन्छ ।

उमेर, गला र कला हुँदासम्म मात्र मनोरञ्जन क्षेत्रमा काम, माम र दाम पाउले अवस्था छ । रोजिना भन्छिन्–‘हामीले केही कुरा उठाएमा समाजले उल्टै हामीलाई नै दोषी देखाउँछ । हाम्रो विषयमा आवाज उठाइदिने कुरा त सोच्नसम्म सकिँदैन ।’

मनोरञ्जनको क्षेत्रमा काम गरेर भविष्य नपाउने र इज्जतका साथ कामको बारेमा भन्न नपाउने भएपछि यस क्षेत्रको विकल्प खोज्नु पर्ने अवस्था छ । घर, परिवार र समाजबाट लुक्दै गर्नुपर्ने कामको पहिचान र सम्मान सबैको लागी आवश्यक रहेको अधिकारकर्मीहरू बताउँछन् ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरू हालै काठमाडौँमा भेला भएर आफ्नो आवाज सामुहिक रूपमा उठाउने निष्कर्ष निकालेका छन् ।

विगतको तुलनामा मनोरन्जन क्षेत्रमा कार्यरत महिलाहरू आफूमाथि भएको विभेदका विषयमा खुलेर बोल्न थालेका छन् ।

महिला हिंसाको १६ दिने अभियान मनाउँदै गर्दा अन्य क्षेत्रका महिलाको तुलनामा मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिलाहरूलाई समाजले नै समस्या मान्ने भएकाले उनीहरूको समस्या राज्यबाट पनि खासै सुनुवाइ भएको छैन ।

नेपालमा महिला हिंसाको घट्ना सम्बन्धि बिभिन्न क्षेत्रमा दर्ता हुन्छ त्यसका बारेमा पहल हुन्छ तर जब मनोरञ्जन क्षेत्रका महिला उजुरी दिन जान्छन् तब उनीहरूको घटना दर्ता प्रक्रियामा नै नआउने समस्या अहिले पनि विद्यमान छ ।

हालसम्म नेपालमा खुलेकोे रेष्टुरेष्ट, बार, डिस्कोलगायतका मनोरञ्जनस्थलको एकीन तथ्याङ्क सरकारसँग समेत छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सन् २००८ सम्मको मात्र तथ्याङ्क रहेको छ । जस अनुसार रेष्टुरेष्टको सङ्ख्या २० हजार र त्यसमा काम गर्ने कर्मचारीको सङ्ख्या ६० हजार रहेको छ ।

कुनैपनि व्यक्तिलाई बाध्यात्मक रूपमा काममा लगाउन नपाउने कानुनी व्यवस्था भएपनि अनेकन बाध्यतामा परेर मनोरञ्जन क्षेत्रमा अत्यधिक मात्रामा महिला र बालबालिकाहरू प्रयोग भएका छन् ।

आपूहरू समक्ष हालसम्म यस किसिमका कुनै गुनासो वा उजुरी नै नआएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।


विमला पौडेल