मधेस आन्दोलनका क्रममा घाइते भएका साफीको मृत्यु

  ०७४ वैशाख १६ गते

प्रान्तीय सीमाङ्कनको विरोधमा मधेसी मोर्चा, सप्तरीको आह्वानमा भएको आन्दोलनमा ०७२ मङ्सिर ५ गते प्रहरीको गोली लागेर घाइते भएका हनुमाननगर कङ्कालिनी नपा-४ मधवापुरका ५४ वर्षीय रघु साफीको वैशाख १५ गते राति मृत्यु भएको छ ।

Photo20170429Saptari

दङ्गाग्रस्त क्षेत्र तोकिएको हनुमाननगर कङ्कालिनी नपा-१ भारदहस्थित पूर्व-पश्चिम राजमार्गमा आवागमन अवरोध गर्न गएका बेला ०७२ मङ्सिर ५ गते मध्यराति भएको झडपका क्रममा देब्रे आँखामा गोली लागेर उनको आँखाको ज्योती गुमेको थियो ।

घाइते साफीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा करिब एक महिना राखेर उपचार गरिएको थियो ।

मोर्चा सप्तरीले वैशाख १६ गते एक विज्ञप्ति जारी गरी साफीलाई सहिद घोषणाका साथै मृतक परिवारलाई क्षतीपूर्ति उपलव्ध गराउन सरकारसँग माग गरेको छ ।

मृतक साफीको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।


मनोहरकुमार पोखरेल