मधेसी मोर्चाको बन्दले जनजीवन प्रभावित
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको दोस्रो दिन फागुन २५ गते मध्यपश्चिमाञ्चल क्षेत्रका बाँके, बर्दिया र दाङ जिल्लाको जनजीवन प्रभावित भएको इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ ।
इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बन्दका कारण गुलरिया बजार पूर्ण रूपमा बन्द रह्यो । जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधन पूर्व पश्चिम महेन्द्र राजमार्ग र गुलरिया नेपालगञ्ज हुलाकी सडकमा नचल्दा यात्रुहरू अलपत्र परे । बन्दकर्ताले एम्बुलेन्स र विवाहका साधन चल्न दिएका थिए ।
इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार बन्दका कारण नेपालगञ्ज, राझा, सोनपुरलगायतका बजार बन्द रहे । जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुने सकेनन् । बन्दका कारण भारतबाट आउने मजदुरहरू पैदल तथा महङ्गो भाडा तिरेर रिक्सामा गन्तव्यतिर जान बाध्य भएका थिए ।
इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बन्दका कारण पूर्व पश्चिम महेन्द्र राजमार्गमा लामो तथा छोटो दुरीका सवारी साधान सञ्चालन भएनन् । बन्दका कारण लमही बजार पूर्ण रूपमा बन्द रह्यो ।
सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको तराई/मधेस बन्दको आज दोश्रो दिन मध्यमाञ्चल क्षेत्र अन्तर्गतका जिल्लाहरूको जनजीवन प्रभावित भएको इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ ।
इन्सेक सर्लाही जिल्ला प्रतिनिधि सन्तोष कुमार साहका अनुसार प्रहरीको गोली लागेर सप्तरीमा प्रदर्शनकारीको मृत्यु भएपछि त्यसको बिरोधमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताहरूले सर्लाही सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले सडकमा टायर बालेर यतायातका साधन सञ्चालन हुन दिएनन् । बन्दका कारण सदरमुकाम मलङ्गवासहित प्रमुख व्यपारिक केन्द्र इश्वरपु र बरहथवा पनि बन्द भए । नेकपा एमालेको अभियान अन्तर्गत सर्लाहीको हरिपुरमा फागुन २६ गते हुने भनिएको कार्यक्रम स्थगित भएका कारण मोर्चाले आह्वान गरेको सर्लाही बन्द फिर्ता लिएको सदभावना पार्टीका जिल्ला अध्यक्ष प्रमोद साहले बताए ।
इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोद कुमार रविदासका अनुसार मधेसी मोर्चाको दुई दिन देखिको बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण शैक्षिक संस्था, बजार, उद्योग र यातायात पूर्ण रूपमा ठप्प भए । मोर्चाले प्रेस विज्ञप्ति जारी गरी बन्द खुलेको जानकारी दिनुका साथै सङ्घीय गठबन्धनले फागुन २७ गते आह्वान गरेको बन्द होली पर्व परेकाले बन्द खुकुलो पार्ने निर्णय समेत गरेको जनाएको छ ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजय कुमार साहका अनुसार बन्दका कारण महोत्तरीको सदरमुकाम जलेश्वरको बजार, उद्योग धन्दा, कलकारखाना तथा यातायात ठप्प रहे । बन्दको प्रभाव जिल्लाको दक्षिणी भेगमा देखिए पनि उत्तरी भेगमा प्रभाव न्यून रहेको छ ।
महोत्तरीको जलेश्वरमा प्रत्येक वर्षमहिला तथा बालबालिका कार्यालयसहित विभिन्न संघ संस्थाले संयुक्त रुपमा नै विभिन्न कार्यक्रम गरी मनाउने गरेको नारी दिवस यस वर्षमनाइएन ।
इन्सेक रौतहट जिल्ला प्रतिनिधि विपिन गौतमका अनुसार मधेसी मोर्चाको बन्दका कारण जिल्लाको दक्षिण क्षेत्रको जनजीवन प्रभावित रहेको छ । दक्षिण क्षेत्रमा शिक्षण संस्था, यातायात, कलकारखाना, बजार र पसल बन्द रहे ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार मधेस बन्दका कारण कपिलवस्तुको जनजीवन कष्टकर बनेको छ । बिहानदेखि जिल्ला सदरमुकाम भएर चल्ने कुनै पनि सवारीका साधन चल्न सकेनन् भने जिल्लाका सदरमुकाम तौलिहवा, बहादुरगञ्ज, चन्द्रौटा, कृष्णनगर, जहदी, पकडीलगायतका बजार दिनभर बन्द रहे । मधेसी मोर्चाका कार्यकर्ताले विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेर प्रदर्शनसमेत गरेका थिए ।
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार लहान नपा ३ की ९ वर्षीया प्रिति कुशवाहा र ७ वर्षीया प्रिया कुशवाहालाई फागुन २४ गते साँझ प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

घरबाट खेल्नलाई बेलुका निस्किएका बालिकाहरूलाई लहान-३ स्थित गोधुली होटल नजिक सुरक्षामा खटिएका इलाका प्रहरी कार्यालय लहानका प्रहरीले कुटेको पीडित बालिकाले आरोप लगाइन् ।
साँझ मधेसी मोर्चाका कार्यकर्ताले सो ठाउँमा टायर बालेर प्रदर्शन गरेकाले प्रदर्शनकारीलाई लखेटने क्रममा प्रहरीले आफूहरूलाई कुटपिट गरेको पीडित बालिकाले बताइन् ।
कुटाइबाट प्रितिको गोडा तथा प्रियाको हात मर्किएको छ । दुवै बालिकाको उपचार लहान स्थित सप्तऋषी अस्पतालमा भएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले घटना दुखद् भएको बताए । जिल्लाबाट सुरक्षाको लागि खटिएको प्रहरीबाट गल्ती भएको उनले बताए । डिएसपी पाण्डेले आइन्दा यस्तो घटना घट्न नदिन आफू सजग रहने र बालिकाहरूको उपचार खर्चको व्यवस्था मिलाउनेसमेत बताए ।
बन्दको दोस्रो दिन सिरहामा लाठी जुलुस प्रदर्शन गरिएको छ । बन्दका कारण बजार, पसल, विद्यालय, कलकारखाना तथा सरकारी कार्यालय र यातायात बन्दले जनजीवन प्रभावित भएको छ ।
यसैबिच नेकपा एमाले सिरहाले फागुन २४ गते प्रेस विज्ञप्ति प्रकाशित गर्दै मधेसी मोर्चाले अराजक गतिविधि र अमानवीय क्रियाकलापहरू नरोके नेकपा एमाले चुप लागेर नबस्ने चेतावनी दिएको छ । एमाले सिरहाका अध्यक्ष प्रमोद यादवले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतवनी दिएका हुन् ।
मेची-महाकाली अभियानलाई विरोध गर्ने नाममा अराजक गतिविधि गर्दै मोर्चाले फागुन २४ गते लहानमा एमालेको क्षेत्रीय र नगर पार्टी कार्यालयमा तोडफोड र आगजनी गरी ६ लाख रुपियाँ बराबरको सामग्रीहरू जलाएको एमालेले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…