मधेशको नाममा भ्रमको खेती भइरहेको छः अध्यक्ष प्याकुरेल

  ०७३ माघ १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मधेशको नाममा भ्रमको खेती भइरहेको बताएका छन् ।

इन्सेकले ०७३ माघ १७ गते लहानमा समग्र जनउत्थान केन्द्र लहानको सहकार्यमा आयोजना गरेको 'मधेशका समस्या, प्रान्त सिमा र स्वायत्तताको सवाल' विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले अहिले मधेशमा भ्रमको खेती गर्नेहरूले मधेश र पहाडबिच भ्रम फैलाएर आफ्नो दुनो सोझो गरिरहेको बताएका हुन ।

लामो समयदेखि निर्वाचन नहुँदा भ्रमको खेती गर्नेहरू सक्रिय भएकोले निर्वाचन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए । मधेशको समस्या समाधानको लागि इन्सेक आधिकारिक निकाय नभए पनि नैतिक दबाव दिन कहिले पनि पछि नपरेको अध्यक्ष प्याकुरेलले बताए ।

कार्यक्रममा  संवैधानिक  कानुनका  ज्ञाता डा. सुरेन्द्र भण्डारीले आधारपत्र प्रस्तुत गर्दै सङ्घीयताको श्रेय मधेशी जनतालाई जाने बताए । उनले अहिलेको संविधानमा धेरै नराम्रो भए पनि केही धेरै राम्रा पक्षहरू सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी भएकोले अन्यकुराहरू पछि पनि परिमार्जन हुने हुँदा संविधानलाई कार्यान्वयन गर्नु पर्ने बताए ।

कार्यक्रममा मधेश मामिलाका विज्ञ डा.राजेश अहिराजले मधेशीसँग नेपालमा विभेद कहिल्यै नभएको बताए । उनले मधेशीसँग रङ्गभेद भएको उल्लेख गर्दै रङ्गभेद र अखण्डता सँगै नजाने बताए । रङ्गभेद अन्त्य गर्नका लागि सोही अनुसारको काम हुनु पर्नेमा उनले जोड दिए ।

'नेपाललाई दुई राष्ट्रको अवधारणामा लगिँदैछ । यसले मुलुकलाई अन्तत विभाजनमा लान्छ । त्यसैले बुद्धिजिवीहरू यो कुरामा सचेत हुनु पर्छ । दुई राष्ट्रको अवधारणाले संसारमा धेरै मुलुक विभाजनमा गएका छन् ।'-अहिराजले भने ।


दुर्गा परियार