मत हाल्ने तरिका सिकाउन दलहरूलाई आयुक्तको आग्रह

  ०७४ वैशाख २८ गते

निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले मत बदर सङ्ख्यालाई न्यूनीकरण गर्नका लागि उम्मेदवारहरूले पनि मतदातालाई मत हाल्ने तरिका सिकाउनुपर्ने बताएका छन् ।

वैशाख २८ गते गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा आयुक्त पौडेलले आचारसंहित विपरीतका गतिविधि नगर्न पनि दलहरूलाई आग्रह गरेका छन् । दलीय झगडा गरेर बस्नुको साटो मतदातालाई मत हाल्ने तरिका बारे सिकाउनु उत्तम हुने भन्दै उनले मतदाता शिक्षा दिन राजनीतिक दलका प्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा सहभागीहरूले मतदान केन्द्रसम्म पुग्ने सडक खण्ड मर्मत गर्न माग गरेका छन् । कार्यक्रममा गोरखाको विकट चुमनुव्री गाउँपालिकाका ३१ ओटा मतदान केन्द्रका मतपेटिका सङ्कलन गर्न हेलिकप्टरको व्यवस्था गरिदिन गोरखाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले आयुक्तसमक्ष माग गरेका थिए । भौगोलिक विकटताका कारण ३१ ओटा केन्द्रको मतपेटिका सङ्कलनमा निकै समस्या पर्ने पौडेलको भनाइ छ ।

'मतदाता सामग्री बल्लतल्ल सम्बन्धित केन्द्रमा पठायौँ ।'-पौडेलले भने-'सात दिनसम्म पैदल हिँड्नुपर्ने बाटो छ । हेलिप्कटर विना मतपेटिका सङ्कलन गर्न सम्भव नै छैन ।' मतपेटिका सुरक्षाका लागि पनि हेलिकप्टरको आवश्यकता रहेको उनको भनाइ थियो ।


हरिराम उप्रेती