मतपत्र च्यातेको घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता

  ०७४ जेठ १६ गते

जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका दुई जनाविरुद्ध जेठ १६ गते अदालतमा मुद्दा दर्ता गरेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाका अनुसार मतपत्र च्यात्ने काममा संलग्न रहेको आरोपमा नेकपा माओवादी केन्द्रका प्रतिनिधि मधुकर न्यौपाने र द्रोणबाबु सिवाकोटीविरुद्ध मुद्दा दर्ता गरिएको हो । जेठ १६ गते नै चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जबरजस्ती गर्नेलाई १ लाख रुपियाँ जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा १६ मा भनिएको छ-'कसैले पनि निर्वाचनको मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचनसम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमतिबिना मतगणनास्थलबाट अन्यत्र लैजान हुँदैन ।'

त्यसैगरी उपदफा २ मा भनिएको छ-'उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई १ लाख रुपियाँसम्म जरिबाना वा दुईवर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।'


दिपेन्द्र अधिकारी