मतपत्र च्यातेको आरोपलागेका दुई जनालाई कसुुरदार ठहर

  ०७६ जेठ ३१ गते

निर्वाचन कसुरसम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले दुई वर्षपछि फैसला गरेको छ ।

आउँदो असार ५ गतेको पेशीमा कारवाही सुनाउने गरी विहीबार जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले ०७४ वैशाख ३१ भएको निर्वाचन अन्तर्गत जेठ १४ गते राति भरतपुर महानगरपालिका–१९ को मतगणनाको क्रममा मतपत्र च्यातेको आरोपमा मुद्दा चलेका भरतपुर महानगर ११ का ४० वर्षीय द्रोणबाबु शिवाकोटी र भरतपुर महानगरपालिका–१ का ३५ वर्षीय मधुकर न्यौपानेलाई दोसी ठहर गरी ०७६ जेठ ३० गते कसुर निर्धारण गर्ने गरी फैसला भएको छ ।

तत्कालिन माओवादी केन्द्रका प्रतिनिधिहरू रहेका न्यौपाने र शिवाकोटीले जेठ १४ गते मध्यरातमा भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मत पत्र च्यातेको आरोपमा प्रहरीले तत्कालै गिरफ्तार गरेको थियो ।

आरोपित दुवै ०७४ जेठ १८ गते चितवन अदालतका न्यायाधीश बासु पौडेलको इजलासलबाट जनही १ लाख धरौटीमा रिहा भएका थिए ।

उनीहरूलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार सजाय तोकिन लागेको चितवन अदालतले जनाएको छ ।

आरोपितहरू विरूद्ध ०७४ जेठ १७ गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । आरोपित दुवै जनाविरूद्ध १ लाख रुपियाँ जरिवाना र दुई वर्ष कैद सजायको माग गरिएको थियो भने २६ औँ पटकको पेशीमा चितवन अदालतको उक्त निर्णय लिएको हो ।

तत्कालिन समयमा भरतपुर महानगरको निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा रेनु दाहाल पक्षका मत गणनामा सलंग्नहरूले मतपत्र च्यातेका थिए ।

सोही वर्ष साउन २० गते दोस्रो पटक भरतपुर मनपा–१९ मा पुनः मतदान भएको थियो । जसमा रेनु दाहाल विजयी भएकी थिइन् ।


दिपेन्द्र अधिकारी