मतदातालाई प्रभाव पार्न आयोजना गरिएको भोजभतेर प्रहरीले रोक्यो

  ०७६ मङ्सिर ७ गते

सखुवा प्रसौनी गाउँपालिका–५ महुवनमा वडाध्यक्षका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ ।

उपनिर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता जारी गरे पनि सोको प्रतिकूल हुनेगरी समाजवादी पार्टीका समर्थकले भोजभतेर गर्न तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीका इन्स्पेक्टर राजकुमार महतको कमाण्डमा गएको प्रहरी टोलीले सो भोजभतेर रोकेको हो ।

सो वडामा समाजवादी पार्टीका समर्थक असेश्वर साह कानुको घर अगाडि टेण्ट गाडेर भोजभतेरको आयोजना गर्न लागेको समयमा रोकिएको जानकारी दिँदै सशस्त्र प्रहरी इन्स्पेक्टर महतले भन्नुभयो–‘आचारसंहिता विपरीत गर्न लागिएको सो भोजभतेर हामीले रोकेका हौँ ।’

निर्वाचन कार्यालयले यसअघि आचारसंहिता विपरीत सो वडामा लगाइएको झण्डा तथा तुलहरू हटाइएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रञ्जिता झाले बताउनुभयो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष बृजमोहन राय यादवको मृत्युपश्चात सखुवा प्रसौनी गाउँपालिका–५ मा वडाअध्यक्षको उपनिर्वाचन हुन लागेको हो ।

महुवन, बलुवा र सोलकपुर गरी तीन गाउँ पर्ने सखुवा प्रसौनी–५ मा २ हजार ६ सय २ जना मतदाता रहेका छन् ।

महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मङ्सिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने उपनिर्वाचनको लागि मतदान केन्द्र एक र मतदानस्थल तीन रहने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


कृष्णचन्द्र लामिछाने