मतगणना तत्काल सुरु गर्न माग गर्दै एमाले नेताहरू धर्नामा

  ०७३ जेठ १६ गते

चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, मेयर पदका उम्मेदवार देवी ज्ञवाली, उपमेयर पदका उम्मेदवार दिव्या शर्माको नेतृत्वमा नेता तथा कार्यकर्ता जेठ १६ गतेबाट मतगणना स्थल भरतपुरको कभर्ड हल अगाडि धर्नामा बसेका छन् ।

रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै जेठ १६ गते बिहान नारायणगढको पुलचोकबाट मतगणनास्थलसम्म एमालेले विरोध र्‍याली गरेको थियो ।

चितवनमा मतपत्र च्यातेको घटनापछि नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले पुनः मतदानको माग गर्दै आएका छन् ।

जेठ १५ गते राति भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेका बेला नेकपा माओवादी केन्द्रका मतगणना प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना रोकिएको हो ।

त्यसबेला एमालेका मेयर पदका उम्मेदार देवी ज्ञवाली, नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल भन्दा ७ सय ८४ मतले अघि रहेका थिए ।

यसैबीच राससका अनुसार भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा (एमाले)को उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आयोगको कार्यालय कान्तिपथमा पुगी सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितको टोलीले प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलगायतका आयुक्तलाई भेटी सो घटनाका नाममा पुनःमतदानतर्फ जाँदा निर्वाचनको प्रणाली र मूल्यमान्यतामा नै प्रश्न उठ्ने भएकाले च्यातिएका मतलाई अलग राखेर गणना गरी परिणाम घोषणा गर्न सकिने जनाएको छ ।

भेटपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मतपत्र च्यात्ने कार्यमा संलग्नलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिइसकेकाले सो घटनालाई गणनास्थल कब्जाका रुपमा लिन नपर्ने बताउँदै कब्जा भएको अवस्थामा मात्र पुनः मतदानमा जाने कानुनी व्यवस्था भएको जिकिर गरे ।

उनले-'महानगरपालिका प्रमुखमा एमालेका उम्मेदवार देवी ज्ञवालीको जित सुनिश्चित भएको अवस्थामा सो घटना गराई पुनः मतदानमा लैजाने षड्यन्त्र गरेको' भन्दै आफ्नो पार्टीलाई त्यस्तो काम मान्य नहुने स्पष्ट पारिएको जानकारी दिए ।

उनले भने-'छानबिन गरेर मतगणना सञ्चालन गरियोस् । एमाले हार्न तयार छ । तर, देश, जनता र निर्वाचन पद्धतिले जित्नुपर्छ । यस्ता घटनामा पुनः मतदान गराउँदै जाने हो भने आगामी निर्वाचनमा परिणाम आफ्नो हातमा पार्न निश्चित नभएसम्म मतदान र गणना प्रक्रिया भत्काउने प्रवृत्तिले प्रोत्साहन पाउँछ ।'


दिपेन्द्र अधिकारी