भूमिगत पल्लो किराँतका नौ जना कार्यकर्ता गिरफ्तार

  ०७६ कात्तिक ८ गते

भूमिगत राजनीति गरिरहेको पल्लो किराँत लिम्बूवान राष्ट्रिय मञ्चका नौ जना कार्यकर्तालाई प्रहरीले कात्तिक ७ गते इलाम सदरमुकामबाट गिरफ्तार गरेको छ ।

गिरफ्तारीमा पर्नेमा मञ्चका केन्द्रीय सचिव मिक्लाजुङ–५ पाँचथरका ४५ वर्षीय धनबहादुर बिक धमला, महिला सङ्घ केन्द्रीय अध्यक्ष माङसेबुङ–३ की ५० वर्षीया कविरमाया साँवा, मञ्चका इलाम अध्यक्ष चुलाचुली गाउँपालिका–३ का २९ वर्षीय विजय आङ्देम्बे, मञ्चका जिल्ला सचिव इलाम नगरपालिका–८ का ३७ वर्षीय मनकुमार माखिम लिम्बू, जिल्ला कोषाध्यक्ष माई– ८ का ६२ वर्षीय मैतराज लिम्बू, जिल्ला सदस्य माई– ८ का ३१ वर्षीय कमल लकान्द्री, चुलाचुली–३ का ५० वर्षीय वृजराज चौहान, माई–८ का २५ वर्षीय अजाहाङ लिम्बू, चुलाचुली– ३ का ४५ वर्षीय हर्कबहादुर नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालयका एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

संयुक्त राष्ट्र सङ्घको स्थापना दिवस मनाउने क्रममा इलाम चोक बजारमा भेला भएका ती कार्यकर्ताले नेपालको झण्डा भएको स्थानमा त्यो झण्डा हाम्रो होइन भन्दै राष्ट्रिय अखण्डता विरोधी गतिविधि गरेर पल्लो किराँत र संयुक्त राष्ट्रसङ्घको झण्डा गाड्न खोज्दा उनीहरूलाई गिरफ्तार गरिएको एसपी पाण्डेले बताए ।

गिरफ्तार भएकाहरूलाई के कारबाही गर्ने भन्ने माथिल्लो कार्यालयबाट आदेश आइ नसेकेकाले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमै राखिएको पाण्डेले जानकारी दिए ।


कोकिला ढकाल