भूकम्प पीडितलाई थप १ लाख रुपियाँ दिने निर्देशक समितिको निर्णय

  ०७३ असोज १० गते

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते बसेको बैठकले भूकम्पबाट प्रभावित भएका प्रति परिवारलाई थप १ लाख रुपियाँ दिने निर्णय गरेको छ ।

प्राधिकरणका सिइओ सुशील ज्ञवालीले अनुदान वितरण कार्यविधि परिवर्तन गरी थप १ लाख रुपियाँ अनुदान दिने निर्णय गरेको सञ्चारकर्मीलाई बताएका छन् ।

यो निर्णयपछि भूकम्पबाट प्रभावित भएका प्रति परिवारलाई दिने अनुदान रकम ३ लाख रुपियाँ पुगेको छ । यसअघि सरकारले भूकम्पबाट प्रभावित भएका प्रति परिवारलाई २ लाख रुपियाँ रकम दिने निर्णय गरेको थियो । प्रधानमन्त्री अध्यक्ष रहने समितिको बैठकले यसअघि निर्णय गरिएको २ लाख रुपियाँ वितरण गरेपछि थप १ लाख रुपियाँ अनुदान दिने भएको हो ।

समितिको यो निर्णयसँगै भूकम्प प्रभावितले पहिलो किस्तामा ५० हजार रुपियाँ, दोश्रो किस्तामा १ लाख ५० हजार रुपियाँ र तेश्रो किस्तामा १ लाख रुपियाँ पाउनेछन् । यसबाहेक सरकारले विना व्याज ३ लाख रुपियाँ ऋण दिने निर्णय गरेको थियो ।


विवेक ढुङ्गाना