भूकम्प गएको दुई वर्षपछि बल्ल अनुदान सम्झौता

  ०७३ चैत २९ गते

भूकम्प गएको दुई वर्षपछि भूकम्प पीडितले निजी आवास पुनर्निर्माण अनुदान सम्झौता चैत २८ गतेबाट सुरू भएको छ । अनुदान वितरण कार्यक्रम अन्तर्गत धनकुटा नपाबाट अनुदान उपलब्ध गराउन थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटा, धनकुटा नगरपालिकाका प्रमुख तिर्थप्रसाद धिताल, पुनर्निर्माण प्राधिकरणका कर्मचारी देवकुमार यादव लगायतको उपस्थितिमा अनुदान सम्झौता सुरू भएको हो ।

ढिलोगरी शुरू भएको अनुदान सम्झौताले पनि अस्थायी टहरामै बस्दै आएका पीडितहरूलाई निकै राहत मिलेको धनकुटा नपा-३ का तुलसा कटुवालले बताइन् ।

घर निर्माणको लागि दिने ३ लाख रुपियाँ अनुदान रकममध्ये पहिलो किस्ता बापत ५० हजार रुपियाँ वितरण गरिने भएको छ । धनकुटामा दुई चरणमा गरी २ हजार ४ सय ७२ जनाको नाम अनुदान सम्झौताको लागि स्वीकृत भएको छ ।

यसका लागि धनकुटास्थित राष्ट्रिय बाणिज्य बैङ्क, कृषि विकास बैङ्क, कावेली विकास बैङ्क, माछापुच्छ्रे बैङ्क, विराटलक्ष्मी बैङ्क र जनता बैङ्कमार्फत सम्झौता अनुसारको रकम उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद धितालले जानकारी दिएका छन् ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार भूकम्प पीडितका लागि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता चैत २९ गतेबाट सुरू भएको छ । अनुदान वितरण कार्यक्रम बगनासकाली गाउँपालिका-चिर्तुङधाराबाट सुरु गरिएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बावुराम गौतम, स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेसहित जिल्ला स्थित राजनीतिक दल, सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागितामा चिर्तुङधाराका ८३ घरका भुकम्प पिडितसँग अनुदान सम्झौता गरिएको थियो ।

घर निर्माणको लागि दिने ३ लाख रुपियाँ अनुदान रकममध्ये पहिलो किस्ता बापत ५० हजार रुपियाँ वितरण गरिने भएको छ । त्यसपछि क्रमशः १ लाख ५० हजार, ७५ हजार र २५ हजार गरि ३ लाख रुपियाँ गराइने जिल्ला समन्वय समितिका बरिष्ठ कार्यक्रम अधिकृत दुर्गाबहादुर थापाले बताए । पाल्पा जिल्लामा  दुई चरणमा गरी ३ हजार ४ सय ३१ घरको नाम अनुदान सम्झौताको लागि स्वीकृत भएको थापाले बताए ।

 

 


सन्तोष रूचाल