भूकम्पले भत्किएको भवन निर्माण नगर्दा बालबालिकाहरू खुल्ला चौरमा

  ०७५ माघ २८ गते

झिमरूक गाँउपालिका–४ स्थित लक्ष्मी मावि बागफेदीमा भूकम्पले चर्काएको भवन निर्माण हुन नसक्दा बालबालिकाहरू खुल्ला चौरमा पढ्न बाध्य छन् ।
०७२ सालमा गएको भूकम्पले भवन चर्काएपछि कक्षा ९ र १० का विद्यार्थीहरू खुल्ला चौरमा पढ्दै आएका छन् ।

भूकम्प गएको समयदेखि नै विद्यालयको भवन नभएको काराण खुल्ला चौरमा पठनपाठन गराउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलमसिंह जिसीले बताए ।

अध्यक्ष जिसीले भवन निर्माणका लागि विभिन्न ठाँउमा माग गरेपनि अझैसम्म बजेट विनियोजन नभएको बताए ।

साविकको जिल्ला शिक्षा कार्यालय र झिमरूक गाँउपालिकामा भवन निमार्णका लागि रकम माग गरेको भएपनि उपलब्ध हुन नसकेको प्रधानाध्यापक कर्णबहादुर जिसीले बताए ।

उनले खुल्ला चौरमा पठनपाठन गराउँदा विद्यार्थीको ध्यान केन्द्रीत नहुने र पानी हावा हुरी आउँदा समस्या हुने गरेको बताए ।

चर्किएको भवनमा पठनपाठन गराउँदा जुनसुकै समयमा पनि भत्किने डरले बालबालिकलाई विद्यालयको चौरमा राखेर पठनपाठन गर्दै आएको शिक्षक पदम थापाले बताए । उनले भवन निमार्णका लागि विभिन्न निकायमा पहल गरे पनि समाधान नभएको बताए ।

झिमरूक गाउँपालिका शिक्षा एकाइ प्रमुख पुतला शर्माले भवन नहुँदा समस्या भएको कुरा जानकारीमा भए पनि बजेट विनियोन नभएका कारणले निर्माण गर्न नसकिएको र नयाँ आर्थिक वर्षमा गाउँपालिकाबाट बजेट विनियोजनका लागि प्रक्रिया थाल्ने बताइन् ।


रविन्द्र पाण्डे