भूकम्पले ध्वस्त भवनमा नै अध्ययन गर्दै बालबालिका

  ०७६ भदौ ३० गते

२०६६ सालमा जिरी नगरपालिका-६, जिरीमा नेपाल सरकारको पूर्ण अनुदानमा सञ्चालित सहिद स्मृति आवासीय माध्यमिक विद्यालय २०७२ को विनाशकारी भूकम्पले ध्वस्त विद्यालय अझै बन्न नसक्दा द्वन्द्व पीडित तथा अन्य आश्रति बालबालिका जीर्ण विद्यालयमा अध्ययन गर्न बाध्य छन् ।

भूकम्पले क्षतिग्रस्त सहिद स्मृति विद्यालयमा २ सय ६४ बालबालिकालाई १६ जना शिक्षक शिक्षिकाले अध्यापन गराइरहेका छन् ।

Photo20190916Dolakha

द्वन्द्व पीडित शिक्षा कार्यक्रम अन्तर्गत गत वर्ष प्रशासनिक ६ कोठे भवन र पाँच कोठे भान्सा घर निर्माण गरिएको थियो ।

बालबालिका अध्यापन गराउंने १५ कोठे क्षतिग्रस्त शैक्षिक भवनका कोठाहरू चिराचिरा परेको, भवनको गारो फाटेको र रडसमेत भाँचिएको विद्यालयमा झ्याल तथा ढोका पनि नभएको अवस्थामा मर्मत बिना नै पठनपाठन भइरहेको प्रधानाध्यापक हिराराज दहालले बताए ।

गत वर्ष जिरी भ्रमणमा आएका बेला प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भूकम्पबाट क्षतिग्रस्त सो सहिद स्मृति विद्यालय भवन निर्माण गरिदिने आश्वासन दिएका थिए ।

मुख्यमन्त्रीको प्रतिबद्धता अनुसार विद्यालयको डिजाइन, स्टमेट तयार गरी मुख्य मन्त्रीको कार्यालयमा पेश गरेता पनि यो वर्षबजेट विनियोजन भएन ।

क्षतिग्रस्त शैक्षिक भवन पुनर्निर्माणका लागि केन्द्रदेखि स्थानीय तहसम्म पहल गरियो कतैबाट सुनुवाइ भएन प्रधानाध्यपक दहालले गुनासो गरे ।

भूकम्पपछि प्राविधिकहरूले विद्यालय निरीक्षण गरी असुरक्षित भनी रातो स्टिकर समेत टाँसिएको, भूकम्प पश्चात् अस्थायी टहरा निर्माण गरी अध्यापन गरिएकोमा सो टहराहरू समेत काम नलाग्ने भएकोले पुनः क्षतिग्रस्त र असुरक्षित भवनमा नै पठनपाठन गर्नुपरेको सो विद्यायल व्यवस्थापान समितिका अध्यक्ष गेल्बु शेर्पाले बताए ।

कक्षा १ देखि १० सम्म अध्यापन हुने सो विद्यालयमा जनयुद्ध तथा जनआन्दोलनका घाइते, मृतक परिवार, बेपत्ता परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्न सो विद्यालय २०६६ सालमा स्थापना गरिएको थियो ।

२०७२ सालका भूकम्पमा परी आमाबुवा गुमाएका बालबालिकाका साथै दलित, विपन्न, सिमान्तकृत परिवारका बालबालिका समेतलाई आवसीय र निःशुल्क शिक्षा सो विद्यालयमा दिइन्छ ।


उद्धव पोखरेल