भूकम्पले चर्किएको भवन पुनःनिर्माण हुन नसक्दा जोखिम मोलेर पठनपाठन गर्न बाध्य

  ०७६ असोज ३० गते

गुलरिया नपा–१ कमलपुरस्थित त्रिशक्ति आधारभुत विद्यालयका विद्यार्थी भूकम्पले चर्किएको भवनमा बसेर पठनपाठन गर्न बाध्य छन् ।

भूकम्पले चर्काएको चार वर्ष पुगिसक्दा पनि पुनःनिर्माण हुन नसक्दा चर्किएकै भवनको कोठामा विद्यार्थी राखेर पठनपाठन गराउन बाध्य भएको प्रधानाध्यापक मणिराम धमलाले बताए ।

विद्यालयमा ३ सय विद्यार्थी अध्ययनरत छन् । भूकम्पले क्षति नपुर्‍याएको भवनमा कोठा नपुगेपछि बाध्य भएर क्षति पुर्‍याएको भवनको दुई ओटा कोठामा जोखिम मोलेरै विद्यार्थी राखेर पठनपाठन गर्न परिरहेको पनि प्रधानाध्यापक मणिराम धमलाले बताए ।

०७२ वैशाख १२ गते गएको भूकम्पले उक्त विद्यालयको चारकोठे पुरानो भवन चर्किएको हो । जिल्ला शिक्षा एकाई बर्दियाबाट गएको प्राविधिक टोलीले अनुगमन गरी चर्किएको भवनमा बसेर पठनपाठन गर्न नमिल्ने भन्दै अन्य वैकल्पिक व्यवस्था गर्न सुझाव दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणकुमार गौतमले बताए । तर, सरकारी निकायबाट अहिलेसम्म भवन पुनःनिर्माणका लागि कुनै योजना नआएको उनले बताए ।

भूकम्पले क्षति पुर्‍याएको संरचनालाई सरकारले पुनःनिर्माण गर्न सरकारले भूकम्प पुनःनिर्माण प्राधिकरण नै स्थापना गरी कार्य सञ्चालन गरेको छ ।

तर, पुनःनिर्माणको लागि सम्बन्धित निकायले कुनै चासो दिएको छैन । भूकम्पले क्षति पुर्‍याए लगत्तै आवश्यक कागज र प्रक्रिया पु¥याएर फाइल जिल्ला शिक्षा एकाई बर्दिया, जिल्ला प्रशासन कार्यालय बर्दिया साथै सम्बन्धित मन्त्रालयको विभागमा पनि फाइल पेश गरेको वडाध्यक्ष प्रतापकुमार गौतमले बताए ।

अहिलेसम्म कतैबाट पुनःनिर्माणको लागि चासो र तदारुकता नदेखाएको वडाध्यक्ष गौतमले गुनासो पोखे । ताकेता गर्दा समेत उपाय नलागेको उनले बताए ।

जिल्ला शिक्षा इकाई बर्दियाका प्राविधिक सहायक शेरबहादुर रोकायले त्रिशक्ति आधारभुत बिद्यालय भूकम्पको कारण क्षति भएको भएको र शिक्षा कार्यालयले अनुगमन गरि पुनः निर्माणका लागि सिफारिस गरिएको पनि बताए । तर पुनः निर्माण किन ढिलो भएको भन्ने बारे जानकारी नभएको बताए ।

photo20191025bardiya (1)

photo20191025bardiya (2)

photo20191025bardiya (3)

photo20191025bardiya (4)


मानबहादुर चौधरी