भूकम्पबाट भत्किएका भवन पुनर्निर्माण नहुँदा अस्थायी केन्द्रमै पठनपाठन

  ०७६ भदौ ९ गते

भूकम्प गएको चार वर्षभन्दा बढी भइसक्दा पनि सुनकोशी गाउँपालिका-३ कालिमाटीस्थित विनायक निम्न माध्यमिक विद्यालयमा अझै पनि अस्थायी सिकाइ केन्द्रमा पढाइ भइरहेको छ ।

भूकम्पले विद्यालय ध्वस्त भएपछि तत्काल पठनपाठन सुचारू गर्न बनाइएको अस्थायी सिकाइ केन्द्र पुनर्निर्माण नहुँदा अहिले पनि विद्यार्थीहरू उक्त केन्द्र मै कष्टसाथ पढ्न बाध्य भएका छन् ।

Photo20190826Sindhuli

विद्यालयमा कक्षा ५ मा पढ्ने बालिका पविना चौलागाईंले कक्षाकोठामा पानी जम्दा बस्न र पढ्न मुस्किल हुने गरेको बताइन् ।

उनले भनिन-'वर्षातमा पानी पर्दा पानी पसेर अनि चुहिएर कक्षाकोठा नै आहाल हुन्छ । जाडोमा उस्तै चिसो हुन्छ अनि गर्मिमा हावाहुरी, धुलो र गर्मीले गर्दा बसेर पढ्नै गाह्रो हुन्छ ।'

बैलैमा भवन नबन्दा आफूहरूलाई पढ्न निकै समस्या परेको कक्षा ८ मा अध्ययनरत अस्मिता चौलागाईंले बताइन् ।

विद्यालय भत्केपछि नियमित पठनपाठनमा निकै समस्या भएको विद्यालयका प्रधानाध्यापक अमन्तीनाथ चौलागाईंले बताए ।

तत्कालिन जिल्ला शिक्षा कार्यालय सिन्धुलीको सहयोगमा भूकम्पपछि आर्थिक वर्ष ०७३/७४ मा १९ लाख ७४ हजार रुपियाँमा दुईकोठे एउटा भवन निर्माण त भयो तर त्यसले अपुग भएपछि अस्थायी सिकाइ केन्द्रमै चार ओटा कक्षा सञ्चालन भइरहेको छ ।

चौलागाईँका अनुसार कक्षा कोठा अभावमा कम्प्युटर ल्यावलाई बन्द गरेर त्यहाँ बाल विकासको कक्षा सञ्चालन गरिएको छ ।


विमला पाण्डे