भूकम्पका कारण ३ हजार ३ सय ८२ जना बालबालिका उच्च जोखिममा

  ०७३ भदौ १९ गते

भूकम्पका कारण मकवानपुरका १८ वर्षमुनिका ३ हजार ३ सय ८२ जना बालबालिका जोखिममा रहेको युनिसेफ र बालकल्याण समाज मकवानपुरले गरेको एक अध्ययनले देखाएको छ ।

संरक्षणको दृष्टिकोणले जिल्लाका १ हजार ६ सय बालक र १ हजार ७ सय ८२ बालिका जोखिममा रहेका छन् । 'जोखिममा रहेका बालबालिका कुनै पनि बेला निकृष्ट श्रममा प्रयोग हुन सक्छन् भने ललाइफकाई गरेर भारतका श्रम बजार र कोठीहरूमा पुर्‍याउन सक्ने सम्भावना प्रवल रहन्छ ।'-महिला तथा बालवालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा शाहले भनिन्-'संरक्षणको हिसावले हेर्दा मकवानपुरका झण्डै ३ हजार ४ सय बालबालिका अत्यन्त जोखिममा छन् ।'

युनिसेफ र बालकल्याण समाज मकवानपुरले भूकम्पपश्चात जिल्लाका बालबालिकाहरूको अवस्थाका बारेमा घर/घरमा पुगेर तथ्याङ्क सङ्कलन गरेको थियो । करिव ५ महिना लगाएर तयार पारिएको उक्त तथ्याङ्कले देखाए अनुसार ५८ जना बालबालिका आमाबाबुविहीन फेला परेका छन् भने १५ जना बालबालिका संरक्षणविहीन अवस्थामा रहेको बालकल्याण समाज मकवानपुरका प्रमुख प्रकाश खतिवडाले बताए । उनले भने-'३ सय ६ जना बालबालिकाहरू आफ्नो नातेदारकोमा बसेको अवस्था रहेको छ ।'

०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले मकवानपुरका करिव ३० हजार घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि बालबालिकाको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गरिएको थियो । जोखिममा रहेका बालबालिकामध्ये १ हजार ३५ बालबालिका बाबु नभएको र ४ सय ९९ बालबालिका आमा नभएका छन् । भूकम्पलगायत विविध कारणले घर नभएको, गरिबीको कारणले बिहान बेलुका खानलाउन समस्या भएको, बाल्य अवस्थामा नै छिमेकीको घरमा काम गर्नु पर्ने र अभिभावक नभएर संरक्षणविहीन अवस्थाका बालबालिकाहरू उच्च जोखिममा रहेको बताइएको छ ।

जिल्लाको कुल जनसङ्ख्यामध्ये ४८ हजार २ सय ८४ जना अर्थात ११ दशमलब ४८ प्रतिशत बालबालिका छन् । जिल्लामा रहेका कुल बालबालिकामध्ये ७ दशमलब ३० प्रतिशत बालबालिका उच्च जोखिममा छन् ।

'विविध खाले जोखिममा रहेका बालबालिकाहरूलाई समयमानै उद्धार गर्न नसकेमा उनीहरूले विभिन्न किसिमका कठिनाई र दुर्व्यवहारहरू भोग्नु पर्ने हुन्छ ।'-बालबालिका कार्यालयकी प्रमुख शाहले भनिन्-'यीनै जोखिम अवस्थामा रहेका बालबालिकाहरू सडकमा आउने र अनेक दुर्व्यवहार भोग्ने गर्छन् ।'

भूकम्पका कारण मकवानपुरका ११ जना बालिकासहित १७ जनाको मृत्यु भएको थियो भने १५ बालिकासहित २८ जना घाइते भएका थिए । एक बालिकाको २० घन्टापछि उद्धार गरिएको थियो । भूकम्पले भत्केको घरले थिचेर मृत्यु भयो भनेर अघिल्लो दिन मृतकको सूचीमा राखिएकी टिष्टुङ गाविस-६ की ११ वर्षीय सविना लामाको जिवितै उद्धार गरिएको थियो । भूकम्पले भत्केको घरका भग्नावशेषले उनलाई थिचेको थियो । भग्नावशेष टाँड परेकाले उनी बाँच्न सफल भएकी हुन् ।

जोखिममा रहेका बालवालिकामध्ये ५ सय ७५ बालबालिका स्कूलबाट ड्रप आउट भएको सङकलित तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी जनजाति समुदायका बालबालिकाहरू जोखिममा छन् । २ हजार ७ सय ३९ जनजाति बालबालिका जोखिममा छन् । जिल्ला बाल्यकल्याण समिति मकवानपुरका अधिकृत रवि हमालका अनुसार जोखिममा रहेका बालबालिकामध्ये २ सय ८२ जना अपाङ्गता भएका छन् । १ हजार ३ सय ५७ बालबालिका घरविहीन छन् । भूकम्पका कारणले उनीहरूको घर भत्केको हो ।

संरक्षणको हिसावले जोखिममा रहेका बालवालिकाहरूलाई महिला तथा बालबालिका कार्यालय, बालकल्याण समाज, युनिसेफ लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरूले सहयोग पुर्‍याउँदै आएका छन् । युनिसेफले जोखिममा रहेका बालबालिकाहरूलाई ४ हजारदेखि ६ हजार रुपियाँ रकम वितरण गरिरहेको छ ।

जोखिममा रहेका बालबालिकाहरूलाई ललाईफकाई भारततर्फविक्री गर्न लगिरहेको अवस्थामा ११ जना बालबालिकाको उद्धार गरिएको छ । उनीहरूलाई फकाएर लैजाने दलालहरूमध्ये चार जना गिरफ्तार भएका छन् । अन्य घटनामा संलग्न आरोपित फरार रहेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।


प्रताप विष्ट