भुकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या

  ०७३ साउन २७ गते 

भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनः निर्माण नहुँदा पठन पाठनमा समस्या भएको छ । भुकम्पले क्षति पुगेको १ वर्षविते पनि विद्यालय मर्मत तथा पुनः निर्माण नहुँदा अहिले पनि त्रिपाल र जस्ताका अस्थायी शिक्षण केन्द्रमा सञ्चालन भइरहेका छन् । त्रिपालका शिक्षण केन्द्रमा वर्षात्मा पठनपाठन गर्न नसकिने भएकाले पढाइ प्रभावित भएको छ । पानी पर्दा चुहिने, पढाउँदा आवाज नसुनिने र गर्मीको समयमा पोल्ने भएकाले पठनपाठन प्रभावित भएको हो ।

हिमाली क्षेत्रमा अत्याधिक चिसो र वेसीमा गर्मीले अस्थायी शिक्षण केन्द्रमा पठनपाठन सञ्चालन गर्न नसकिने पात्ले माविका प्रधानाध्यापक लाक्पा शेर्पाले बताए । भूकम्पले पूर्ण क्षति भएका २ सय ७६ ओटा र आशिंक क्षति भएका ४ सय ९४ ओटा विद्यालयमा यस्तो समस्या देखिएको हो ।

ती विद्यालयका ८ सय २३ ओटा कक्षा कोठा पूर्ण क्षति भए पनि अहिले सम्म पुनः निर्माण हुन नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा मर्मतका लागि समान्य बजेट आए पनि पुनः निर्माण नभएको जिल्ला शिक्षा अधिकारी विरेन्द्रजङ्ग थापाले बताए ।

कक्षा अभावमा कतिपय विद्यालयले बहुकक्षा शिक्षण र कतिपयले आलोपालो पढाउने गरेको बताएका छन् । विद्यालयमा कक्षा कोठा अभाव भएपछि त्रिपालका शिक्षण केन्द्रमा पठनपाठन गराउन समस्या भएको शिक्षकहरूले बताएका छन् । त्रिपालका शिक्षण केन्द्रमा पढ्न नसकिने यसम माविकी छात्रा मनिता खत्रीले गुनासो गरिन् ।


शिवप्रसाद ढुङ्गाना