भूकम्पले क्षति पुगेका स्वास्थ्य चौकीहरू नबन्दा सेवाग्राही मर्कामा

  ०७६ माघ २३ गते

भूकम्पले क्षति पुर्‍याएका सिन्धुली जिल्लाका स्वास्थ्य चौकीहरू नबन्दा सेवाग्राही मारमा परेका छन् । जिल्लाको १२ वटा स्वास्थ्य चौकीमध्ये २०७२ सालमा गएकाे विनाशकारी भूकम्पले भत्केका आठ वटा स्वास्थ्य चौकीको पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । ती स्वास्थ्य चौकीको पुनःनिर्माण अझै अन्यौलमा रहेको छ ।

भूकम्पले क्षति पुर्‍याएका तामाजोर, अमले, रतनचुरा, बितिजोर, तीनकन्या, जिनाखु, खोलागाउँ र हरिहरपुरगढी स्वास्थ्य चौकीको पुनःनिर्माण प्रकृया समेत सुरु भएको छैन । स्वास्थ्य चौकीको निर्माण गर्ने आर्थिक स्रोत सुनिश्चित हुन नसक्दा अझै पुनःनिर्माण हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन सिन्धुलीका सव इञ्जिनीयर विदुर खतिवडाले बताउनुभयो । स्वास्थ्य चौकीको भवन नहुँदा स्वास्थ्योपचार सेवा समेत प्रभावित भएको छ ।

भूकम्पले भत्काएर भवन नभएपछि स्वास्थ्य चौकीहरु नीजि घरमा कोठा भाडामा लिएर सञ्चालन हुँदै आएका छन् । स्वास्थ्य संस्था सञ्चालनमा उपयुक्त भवन नहुँदा नियमित स्वास्थ्य सेवा प्रदान गर्न समेत समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका सूचना अधिकारी सुरेश खतिवडाले बताउनुभयो ।

भूकम्पले क्षति पुर्‍याएकामध्ये हाल चार वटा स्वास्थ्य संस्थाको भने पुनःनिर्माणको काम भइरहेको छ । घ्याङ्लेख गाउँपालिका–५ शान्तेश्वरीमा रहेको शान्तेश्वरी, भीमस्थान, आम्बोटे स्वास्थ्य चौकी, र सुनकोशी गाउँपालिका पुरानो झाँगाझोली स्वास्थ्य चौकीको निर्माण कार्य भइरहेका छन । पुनःनिर्माण भइरहेको  चौकीमध्ये भीमस्थान हेल्थपोष्ट कोटगाउँ र पुरानो झागाझोली स्वास्थ्य चौकीको ४५ प्रतिशत निर्माण कार्य सकिएका जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन सिन्धुलीका सव इञ्जिनियर खतिवडाले बताउनुभयो ।

दुई वटा स्वास्थ्य चौकी आगामी चैतमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य लिएको  कार्यालयले जनाएको छ । शान्तेश्वरी र आम्बोटे स्वास्थ्य चौकीको ३५ प्रतिशत निर्माण कार्य भएको र २०७७ असोजसम्ममा निर्माण सकिने खतिवडाले बताउनुभयो ।


बिमला पाण्डे