भुकम्पका कारण विस्थापित बस्तीमा खानेपानीको समस्या

  ०७५ फागुन १० गते

भुकम्पले बस्ती जोखिममा परेर विस्थापित भएर गोरखा नपा–६ सिमलगैरीमा एकीकृत रूपमा बस्दै आएका भूकम्प पीडितको बस्तीमा खानेपानीको समस्यामा भएको छ ।

धार्चे गाउँपालिका–२ केरौँजाको बस्ती भूकम्प र त्यसपछिको पहिरोले जोखिममा परेपछि २१ घरधुरी सिमलगैरीमा सामूहिक जग्गा खरिद गरेर सरेका थिए ।

बस्तीमा पुर्वाधारको विकास नहुँदा उनीहरू समस्यामा परेको बस्तीकी स्थानीय कान्छी गुरूङले बताइन् । खेतको मुहानको पानी सानो हुँदा एक गाग्री पानी थाप्न १५ मिनेट लाग्ने गरेको उनले बताइन् ।

‘सानो धारो पानी छ । त्यहि पनि खेत धनीले खेतमा लगाउन पर्छ भन्छन् । खानलाई समस्या छ ।’–उनले भनिन् । केरौँजाबाट विस्थापित भई आएका २१ घरका झण्डै ४० भन्दा बढी ब्यक्ति पानीको समस्यामा परेका हुन् ।

पानी मुल र पाइप पाए आफैँ श्रमदानमा खटिने उनले बताइन् । सदरमुकामबाट एक दिनको पैदल यात्रापछि पुगिने केरौँजाबाट विस्थापित भई सदरमुकाम नजिकै आएर बसेकाहरू खानेपानीलगायत पुर्वाधार विकासको माग गर्ने निकायको बारेमा पनि अनभिज्ञ जस्तै छन् ।

विस्थापितहरूले सिमलैगरीमा सामूहिक जग्गा खरिद गरेर घर बनाएका छन् । घर बनाउन प्रति परिवार सरकारी अनुदान ३ लाख रूपियाँ प्राप्त गरेपनि जग्गा खरिदको रकम नपाएको बस्तीमा भेटिएका मिङ्गुर गुरूङले गुनासो गरे ।

केहीको घर एक वर्ष र केहीको घर ६ महिनाअघि नै बनेपनि आफूहरूले जग्गा खरिदको रकम नपाएको उनको गुनासो छ ।

जग्गा खरिद र घर बनाउन ऋण लागेपछि मजदुरी गरेर ऋण तिर्न मजदुरी गर्नुपरेको उनीहरूको भनाइ छ । भूकम्पपछि जोखिममा परेर बिस्थापित भएका भूकम्प पीडितलाई सरकारले घर बनाउने जग्गा खरिदका लागि बढीमा २ लाख रूपियाँ उपलब्ध गराउँछ ।

सिमलगैरी बस्तीका भूकम्प पीडितलाई जग्गा खरिदका लागी रकम उपलब्ध गराउने प्रक्रिया अघि बढेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधार इकाइको कार्यालयका प्रमुख रामशरण आचार्यले बताए । ‘उहाँहरूलाई पैसा उपलब्ध गराउने प्रक्रिया चलिरहेको छ ।’–आचार्यले भने ।

साविकको केरौ“जा गाविसका १, २, ३ र ४ नम्बर वडामा प्राप्चेत भिरबाट खसेको पहिरो र ०७२ वैशाख १२ को भूकम्पले धाँझा फाट्दा बस्ती जोखिममा परेको थियो । पुरानो बस्ती जोखिममा परेपछि सो स्थानका ३ सय ४८ घर धुरी विस्थापित भएका थिए ।


हरिराम उप्रेती