भारतीय सुरक्षाकर्मीद्वारा एक युवती र ६ बालिकाको उद्धार

  ०७७ चैत १९ गते

भङ्गहा नपा–८ धर्मपुर टोलबाट घाँस काट्न निस्किएका एक युवती र ६ बालिका चैत १७ गतेदेखि सम्पर्कविहीन भएपछि खोजतलासको क्रममा चैत १८ गते भारतको सीतामढीस्थित रेल्वे स्टेसनबाट भारतीय रेल्वे प्रहरीले उद्धार गरेको छ ।

उद्धार गरिएका उनीहरूलाई भारतीय प्रहरीले नेपाली सुरक्षा टोलीलाई बुझाउने जनाएको छ । उद्धार गरिएकामा ११ वर्षीया एक जना, १२ वर्षीया दुई जना, १३ वर्षीया दुई जना, १७ वर्षीया एक जना र २० वर्षीया एक जना रहेका छन् ।

चैत १७ गते घाँस काट्न निस्किएका सातै जना रातिसम्म घरपरिवारको सम्पर्कमा नआएपछि राति नै उनीहरूका अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी, स्थानीय र भङ्गहा नगरपालिकाका मेयर सञ्जीव साह समेतको टोलीले रातभर खोजी गरेको थियो ।

चैत १८ गते बिहान भारतको सीतामढी रेल्वे स्टेसनमा सातै जनालाई देखेको खबर प्रहरीमा आएको प्रहरीले जनायो ।

उनीहरूलाई नेपाल ल्याउन भारतमा आवश्यक कागजी प्रक्रियाहरू चलाएर नेपाल ल्याइएको छ ।

बालिकाहरूको समूह नै भारत पुग्नुले विभिन्न आशङ्का उब्जाएकोले नेपाल ल्याएर पहिले प्रहरीले अनुसन्धान गरेपछि मात्र परिवारको जिम्मा लगाउने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज कोइरालाले बताउनु भयो ।

उहाँले गम्भीर प्रकृतिको घटना भएकोले सत्यतथ्य बाहिर ल्याएर सोही अनुरूप प्रहरीले अनुसन्धान गर्ने बताउनु भयो ।

सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले ती बालिका तथा किशोरीहरूलाई फेला पारेको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीव साहले बताउनु भयो । उहाँले भन्नु भयो–‘सातै जनाको नाम पनि मिलिसकेको छ ।’

यसैबीच इन्सेकको नेतृत्वमा मानव अधिकारको क्षेत्रमा कृयाशिल संस्थाहरूको एक टोलीले पीडितहरूको ठाउँठेगानामा पुगेर जानकारी समेत लिएको छ ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानको नेतृत्वको टोलीमा महिला अधिकारकर्मी शिला झा, युथ एडभोकेसी नेपालका अभियान संयोजक दिवाकर उप्रेती, समता फाउन्डेशनका रामपुकार महरा, प्रकृति बुढामगर, महिला मानव अधिकार रक्षक सञ्जालका जमुना भुजेल, एमनेस्टी इन्टरनेशनलका बलराम कुमार साह, ओरेक धनुषाका रोजलिन सिंह बछार र इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह रहेका थिए ।


अजयकुमार साह