भारतमा अलपत्र परेका ६ जना महिलाको उद्धार

  ०७७ असार २१ गते

चार महिनादेखि भारतको दिल्लीमा अलपत्र अवस्थामा रहेका ६ जना नेपाली महिलाहरूको उद्धार गरी असार २० गते नेपाल ल्याइएको छ ।

शान्ति पुनर्स्थापना गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा महिलाहरूको उद्धार गरेको हो ।

उद्धार गरिनेमा मोरङ जिल्लाका ४०, ३२, ४० र २७ वर्षीया चार जना र झापा र पर्वत जिल्लाका २६ र ४१ वर्षीया दुई जना रहेको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर प्रताप पौडेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

उनीहरूलाई ०७६ साल फागुन २९ गते बैदेशिक रोजगारीका लागि कुवेत र इरान निशुल्क पठाउने बहानामा नेपालगञ्ज नाका भएर भारतको दिल्लीस्थित कुरारी जोरदा भन्ने स्थानमा लगेर राखेको  खुलेको छ । भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्थाका अध्यक्ष बाबु रोका मगरको विशेष सहयोगमा उद्धार गरि शान्ति पुनर्स्थापना गृह र इलाका प्रहरी कार्यालय कृष्णनगरको पहलमा नेपाल ल्याइएको हो ।

उनीहरू शान्ति पुनर्स्थापना गृहमार्फत मानव वेचविखन केन्द्रीय व्युरोमा थप अनुसन्धानको लागि पठाउने तयारी भइरहेको शान्ति पुनर्स्थापना गृहका जिल्ला संयोजक निशा पन्थीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।


पार्वती आचार्य