भारतबाट उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइयो

  ०७४ वैशाख २९ गते

भारतबाट उद्धार गरिएका सिमकोट गाउँपालिका-१ का १३ वर्षीय बालक याङ्जोर लामालाई प्रहरीले इन्सेक जिल्ला प्रतिनिधिको रोहवरमा उनका आफन्तलाई वैशाख २९ गते बुझाएको छ ।

२०६५ मा नाम थाहा नभएका एक अपरिचित व्यक्तिले बालकको घरबाट बालककी आमासँग पढाई दिने आश्वासनमा भारतको दार्जलिङ लगेका थिए ।

बालकका अनुसार आफू ६ वर्षको हुँदा आमालाई ती अपरिचित व्यक्तिले फकाई राम्रो पढाइदिने भनी लगेका हुन् ।

भारत पुर्‍याएपछि ती व्यक्तिले 'बावु तिमी यतै बस म केही दिन पछि आउँछु' भनेर नचिनेको घरमा बसालेको बालकले बताए । त्यसपछि आफूलाई भाँडा माझ्न लगाएको र पैसा पनि नदिने गरेको बालकले बताए ।

दार्जलिङगमा भाँडा माझेर बसेको आठ वर्षपछि बाजुराका नाम थाहा नभएका एक व्यक्तिले आफूलाई उद्धार गरी बाजुराको जिल्ला प्रहरी कार्यलयलाई बुझाएको बालकले बताए ।

बाजुरा जिल्लाबाट हुम्लाको मैला कवाडी प्रहरी चौकीमा बालकलाई वैशाख २६ गते पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी कमलप्रसाद नेपालले बताए ।

उनका अनुसार आफूले बालकको घरमा जानकारी दिएपछि वैशाख २९ गते बालकका हजुरबुवा दलङ्ग लामालाई इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहको रोहवरमा बुझाइएको प्रहरीले जनाएको छ ।


नन्द सिंह