भागरथि भट्टको हत्याका दोषीलाई कारवाही गर्न अधिकारकर्मीको माग

  ०७७ फागुन ३ गते

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले बलात्कारजन्य घटनामा राज्यको अनुसन्धान प्रक्रिया फितलो बन्दै गइरहेको भन्दै राज्यलाई बलात्कृतहरूको पीडा प्रति गम्भीर बन्न आग्रह गरेको छ ।

सञ्जालले एक विज्ञप्ती जारी गर्दै निर्मला पन्त र भागरथि भट्टको बलात्कारपछिको हत्याका दोषीलाई पक्राउ गर्न नसक्नुले राज्य अपराधिहरूको पहिचान गर्न असफल, असक्षम बन्दै गइरहेको आभास हुन थालेको जनाएको छ ।

‘दोषीहरूको पहिचान हुन नसक्ने हाम्रो अनुसन्धान पद्धति कस्तो हो ? यस प्रति गम्भीर प्रश्न उठेको छ । यसले हामी मानव अधिकारको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाहरूलाई गम्भीर बनाएको छ । यस अर्थमा भागरथि भट्टको हत्याराहरूको अविलम्ब खोजी गरी कानुनी प्रक्रियामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपुर्ति सहित सुरक्षाको प्रबन्ध गराउनुका साथै पछिल्लो समयमा बढ्दै गएको महिला हिंसाका घटनालाई नियन्त्रण गरी नागरिकहरूलाई शान्ति सुरक्षाको अनुभुति दिलाउन हामी जोडदार माग गर्दछौं ।’,– विज्ञप्तीमा भनिएको छ ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णुप्रसाद बराल, गैसस महासङ्घ गण्डकी प्रदेश र गैसस महासङ्घ कास्की शाखा, इन्सेक, सयपत्री समाज, विकास समाज पोखरा,  आमा मिलन केन्द्र, मानव अधिकार रक्षक संरक्षण तथा प्रर्वद्धन केन्द्र कास्की, महिला मानव अधिकार रक्षक सञ्जाल कास्की, दलित महिला सङ्घ, मानव अधिकारका लागि महिला एकल महिला समूह कास्की र बालगृह सञ्जाल, आमा मिलन केन्द्र, कोपिला नेपाल, शक्ति समूह र सिविन नेपालले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै भागरथि भट्टको हत्याराहरूको अविलम्ब खोजी गरी कानुनी प्रक्रियामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपुर्ति सहित सुरक्षाको प्रबन्ध गराउनुका साथै पछिल्लो समयमा बढ्दै गएको महिला हिंसाका घटनालाई नियन्त्रण गरी नागरिकहरूलाई शान्ति सुरक्षाको अनुभुति दिलाउन माग गरेका हुन् ।


सुशन घिमिरे