भाइरल बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधिको अभाव

  ०७४ भदौ १६ गते

जिल्लाका अधिकांश दुर्गम गाउँ तथा बजार क्षेत्रमा भाइरलका बिरामीको सङ्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको स्थानीयले बताएका छन् । यहाँका स्थानीयहरू भाइरलबाट ग्रस्त भएकाले पानी दिनेसम्म पनि सारसुहाउँदै नभएको उनीहरूको गुनासो छ ।

भाइरलका कारण गाउँमा निकै समस्या भइरहेको तर स्वास्थ्य संस्थामा जनशक्ति र औषधि नहुँदा उपचारमा समेत समस्या परेको स्थानीयबासी गुनासो गर्छन ।

गाउँगाउँमा फैलिएको भाइरलका कारण बिरामीहरूले समयमा उपचार नपाउने हो भने यो भाइरल महामारीको रूपमा फैलने र विगतमा झैँ धेरै मानिसले ज्यान गुमाउनु पर्ने अवस्था हुनसक्ने आशङ्का गर्छन् त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल । धेरैको घरमा बिरामी परेकै कारण बिरामीलाई पानी उमालेर दिनेसम्म कोही नभएको प्रमुख रावलले बताए ।

स्थानीय स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीलाई तत्काल बिरामीको उपचारमा लाग्न र औषधि अभाव हुन नदिनसमेत निर्देशन गरिएको उनले बताए । साथै गाउँमा फैलिएको भाइरलका बारेमा जिल्ला अस्पतालमा समेत जानकारी गराइएको र भाइरललाई महामारीको रूपमा फैलन नदिन सम्पुर्ण तयारीमा लाग्न अनुरोध समेत गरिएको बताए ।

स्थानीय स्वास्थ्य संस्थामा केही दिन यता दैनिक ५० देखि ७० जनासम्म भाइरलका बिरामी उपचारका लागि आउने गरेको इलाका स्वास्थ्य चौकी दल्लीले जनाएको छ ।

वर्षातका समयमा जथाभावी फोहोर ठाउँको पानी पिउँदा र खानासमेत राम्रोसँग नपकाएर खाँदा यस्तो समस्या आएको चिकित्सकहरू बताउँछन् । भाइरलका बिरामीको सङ्ख्या बढेर स्वास्थ्य संस्थामा भिड लाग्न थालेपछि डाँडागाउँ कैनास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि सकिएको स्वास्थ्य केन्द्रका कर्मचारी बताउँछन् ।

३/४ दिन देखि सलाइन् पानी सकिएको भएपनि जिल्लामा जाने अवस्था नभएकाले बिरामीलाई केही दिन यता सलाइन् पानी लगाउन नपाइएको स्थानीय स्वास्थ्यकर्मीले बताए । केही बिरामीका आफन्तले आफैँले मेडिकलबाट झिकाएर ल्याएकालाई मात्र सलाइन् लगाइदिने गरेको स्वास्थ्यकर्मीले बताए ।

बारेकोट गाउँपालिकाका सबैजसो वडाका मानिसहरू भाइरलबाट प्रभावित बनेका छन् । बारेकोट गाउँपालिकामा भाइरलका कारण दुई जना बालकको ज्यान गइसकेको बताइएको छ । स्वास्थ्य संस्थाहरू अपायक पर्ने र टाढा रहेकाले पनि उपचारमा समस्या परेको बारेकोट जिरीका स्थानीय पत्रकार वीरबहादुर गिरीले बताए ।

रग्दा र भगवतीका दुर्गम गाउँमा भाइरलकै प्रकोपले धेरै मानिसहरू घरघरमा थला परेर बसिरहेको स्थानीयबासी नेकपा एमाले जिल्ला कमिटी जाजरकोटका सचिवालय सदस्य भिमबहादुर मल्लले बताए । मल्लका अनुसार कुनै घर त्यस्तो छैन जहाँ बिरामी नभएको होस् । 'कसलाई उपचार गर्न स्वास्थ्य संस्थामा लैजाने कसलाई नलैजाने ? स्वास्थ्य संस्था टाढा छ । स्थानीय मेडिकलहरूमा औषधि महङ्गोमा विक्री गरिरहेका छन् ।  भाइरलबाट बढी जसो बालबालिका र ज्येष्ठ नागरिकहरू बढी प्रभावित बनेका छन् ।'-मल्लले भने ।

स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या आएको छ । डाँडागाउँ स्वास्थ्य चौकीमा विगत ८ महिनादेखि ६ जना स्वास्थ्यकर्मीको दरबन्दी खाली छ । त्यस्तै भगवती स्वास्थ्य चौकी, नायकवाडा स्वास्थ्य चौकीलगायत धेरै स्वास्थ्य संस्थामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ ।

'५० शैयाको जिल्ला अस्पतालमा समेत चिकित्सकको दरबन्दी अनुसार पदपूर्ति हुन नसकेकोमा गाउँमा त झन् के हुन्थ्यो?'-नागरिक समाजका अध्यक्ष केशबजङ्ग शाहले बताए । शाहले भने-'सबैलाई राजनीति लागेको छ पार्टी कार्यालय धाएपछि सबै काम बन्ने भएपछि किन गाउँगाउँ डुल्ने अनि दुख गर्ने भए ?'

सदरमुकाम खलङ्गामा समेत भाइरल फैलिएको छ । विद्यालयमा अध्ययन गर्न गएका विद्यार्थीहरू समेत बिरामी हुँदै विद्यालयबाट अस्पताल गएर भर्ना हुनुपर्ने अवस्था आएको शिक्षक राजेन्द्र कार्की बताउँछन् ।

स्वस्थ्य खाना र शुद्घ पानीमा ध्यान नदिँदा धेरै समस्या आएको जिल्ला अस्पतालका निमित्त प्रमुख चाँदनी जैसवालले बताइन् ।


दिनेशकुमार श्रेष्ठ