भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु, स्वास्थ्य चौकीमा औषधि अभाव

  ०७४ भदौ १६ गते

भाइरल ज्वरोका विरामीको सङ्ख्या बढदै आएको अवस्थामा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा र टाढा लैजाने बाटो बाढी पहिरोले भत्काएपछि बन्गाड कुपिण्डे नगरपालिकाका तीन जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बनगाड कुपिण्डे नपा-३ की ५० वर्षीया झुपी बस्नेत, सोही नपा-५ की २६ वर्षीया भगवती साहु र सोही नपा-६ की ५९ वर्षीया चित्री बस्नेत रहेका छन् । करिव एक हप्तादेखि बिरामी परेका उनीहरूको समयमा उपचार नहुँदा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । झुपीको भदौ १३ गते, भगवतीको भदौ १० गते र चित्रीको भदौ ५ गते मृत्यु भएको थियो ।

केही दिनयता पश्चिम क्षेत्रका स्वास्थ्य संस्थामा दैनिक २५ देखि ३० जना भाइरल ज्वरोका बिरामी आउने गरेको स्वास्थ्य चौकी घाँजरीपिपलका अहेब शीलाकुमारी रायले बताइन् । जिल्लाको पश्चिमी क्षेत्रमा भाइरल ज्वरोका बिरामीहरू बढेपछि अस्पतालमा औषधि अभाव भएको छ ।

अहिले भाइरल ज्वरोका कारण गाउँ, टोलका सबै परिवारका सदस्य बिरामी भएको स्थानीयबासी जनक केसीले बताए । स्थानीयबासीले बिरामीको सङ्ख्या अत्याधिक भए पनि स्वास्थ्य चौकीमा औषधि नहुँदा नागरिकले सास्ती पाएको बताउँछन ।

भाइरल ज्वरोका बिरामी बढेसँगै अस्पतालमा औषधिको अभाव भएको स्वास्थ्य चौकी घाँजरीपिपलका अहेब शीलाकुमारी रायले बताइन् । उनले भनिन्-'स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन ।' यहाँ अहिले भाइरल ज्वरो प्रकोपको रूपमा देखिएको छ । दैनिक २५ देखि ३० जनासम्म स्वास्थ्य चौकीमा आउँछन् ।'-उनले भनिन्-'तर, यहाँ औषधि छैन ।'

उनले स्वास्थ्य चौकीमा भाइरल ज्वरोका बिरामी बढेको तर औषधि नभएपछि निजी मेडिकलबाट किनेर पनि दिने गरेको बताइन् ।

यस्तै स्वास्थ्य चौकी निगालचुलामा पनि दैनिक आउने बिरामीमध्ये २५ प्रतिशत भन्दा बढी बिरामी भाइरल ज्वरोका आउने गरेका छन् । स्वास्थ्य चौकीका अहेब रञ्जु महतोले निगालचुलामा भाइरल ज्वरोका बिरामी धेरै रहेको बताइन् । उनले भनिन-'अस्पतालमा आउने बिरामीलाई खाली हात पठाएका छैनौँ । तर, प्रति बिरामी २/३ ओटा ट्याब्लेट मात्रै दिएर पठाएका छौँ ।'

यसैबिच जिल्ला स्वास्थ्य कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख विमल श्रेष्ठले पश्चिमी क्षेत्रमा भाइरल ज्वरो प्रकोपको रूपमा फैलिएको विषयमा आफूलाई जानकारी नभएको बताए । साथै उनले पश्चिमी क्षेत्रका विभिन्न स्वास्थ्य चौकीमासमेत औषधि अभाव भएको बारे आफूलाई कुनै जानकारी नभएको बताए । जिल्ला अस्पतालमा औषधि प्रशस्त मात्रामा रहेको निमित्त कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।


मिना बुढाथोकी