भरतपुर कारागारका ६ जना कैदीहरूको कैद मिनाहा

  ०७७ जेठ १५ गते

भरतपुर कारागारका ६ जना कैदीहरूको कैद मिनाहा भएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले उनीहरूको कैद मिनाहा गर्नुभएको हो । ५० प्रतिशत कैद भुक्तानी गरेर व्यक्तिगत आचरणमा सुधार आएका ६ जनाको कैद मिनाहाको लागि भरतपुर कारागारले सिफारिस गरेको थियो ।
कैद मिनाहा पाउनेहरूमा ज्यान मार्ने उद्योगका तीन जना र कर्तव्य ज्यान, सवारी ज्यान र नागरिकता कीर्ते मुद्दाका एक÷एक जना गरि ६ जना पुरुष रहेको भरतपुर कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
चितवनका तीन जना, नवलपरासीका दुई जना र भारतको बिहारका एक जनाले कैद मिनाहा पाएका हुन् । भरतपुर कारागारमा ६ सय ७४ जना पुरुष र ५८ जना महिला गरि ७ सय ३२ जना कैदीबन्दी रहेका छन् । तीन जना आश्रित बालबालिका पनि कारागारमा छन् ।
कारागारको क्षमता २ सय ५५ जना पुरुष र २५ जना महिलाको भए पनि हाल दुई गुणा भन्दा बढी कैदीबन्दीहरूलाई राखिँदै आइएको छ ।


दिपेन्द्र अधिकारी