भत्ता वितरण नहुदा लक्षित समुदाय मर्कामा

  ०७४ पुस २२ गते

पुर्चौडी नगरपालिकाले यो आर्थिक वर्षमा एकपटक पनि समाजिक सुरक्षा भत्ता वितरण नगर्दा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७४/७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्नेमा कर्मचारीहरूको लापारबाहीका कारण समाजिक सुरक्षा भत्ताको बजेट निकासासमेत हुन सकेको छैन ।

यो आर्थिक वर्षको दोस्रो चौमासिकको दोस्रो महिनासम्म पनि सामाजिक सुरक्षा भत्ता नपाउँदा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलितलगायत मार्कामा परेको ६८ वर्षीया हरिना महराले बताइन् ।

असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिबाट ठूलो आशा गरेका नागरिकले झन् समस्या भोग्नु परेको सेवाग्राहीको गुनासो छ । 'जनप्रतिनिधि आउनुभन्दा अघि बरू चार-चार महिनामा भत्ता पाइन्थ्यो ।'-महराले भनिन् ।

यस कारण रोकियो बजेट

कतिपय स्थानीय तहका जनप्रतिनिधिले घरघरमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरिरहेका बेला पुर्चौडी नगरपालिकाका जनप्रतिनिधिहरू भने निर्वाचित भएपछि एक पटक पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न पाएका छैनन् ।

साउनदेखि कात्तिकसम्मका लागि पहिलो चौमासिकमा २ करोड २२ लाख रुपियाँ निकासा हुनुपर्नेमा १ करोड १७ लाख मात्रै बजेट निकासा भएकाले वितरण नगरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले लाभग्राहीको सही विवरण स्थानीय विकास मन्त्रालयको पञ्जीकरण विभागमा पठाउन नसक्दा रकम रोकिएको नगरपालिकाका उपप्रमुख जयन्ती ऐर बमले बताइन् । 'विगतमा वडा सचिवहरूले मृत्यु भइसकेका व्यक्तिलाई पनि भत्ता वितरण गरेछन् ।'-उनले भनिन्-'पूर्ण व्यक्तिगत विवरण बिना नै भत्ता वितरण गरिएकाले अहिले समस्या आयो ।'

सबै वडाहरूबाट लाभग्राहीको विवरण अपुग भएकाले रकम रोकिएको वडा नम्बर-८ मल्लादेहीका सचिव उत्तमबहादुर विष्टले स्वीकार गरेँ । 'हरेक वडाबाट कमजोरी भएको छ ।'-उनले भने-कसैको नागरिकता छुटाएका छन् कसैले मृत्यु भइसकेका व्यक्तिको विवरण पनि समावेश गरेकाले विवरण पेश गर्न नसकिएको हो ।'

दबावमा जनप्रतिनिधि

समाजिक सुरक्षा भत्ता वितरण गर्न नपाउँदा जनप्रतिनिधिहरू नैतिक दबावमा परेका छन् । चुनावमा गरेका बाचा अनुसार भत्ता समयमै वितरण गर्न नपाउँदा नागरिकबाट दबाव आउन थालेको वडा नम्बर-८ का वडा अध्यक्ष जनक विष्टले बताए ।

'ज्येष्ठ नागरिक, एकल महिलाले बाटोमा हिँड्दा पनि किन भत्ता दिनुभएन भनेर सोध्ने गर्छन् ।'-उनले भने-'निर्वाचित भएपछि एक पटक पनि भत्ता बाँड्न पाएका छैनौ ।' कर्मचारीले गरेको प्राविधिक त्रुटीले आफूहरू समस्यामा परेको उनको आरोप छ । अहिले लाभग्राहीको पूर्ण विवरण मन्त्रालयमा पठाउने काम अन्तिम चरणमा पुगेकाले यो महिनाभित्रै समाजिक सुरक्षा भत्ता वितरणको काम सुरू हुने नगर उपप्रमुख ऐर बमले बताइन् ।


नरी बडु