भत्ता माग्न जाँदा मृत्यू दर्ता !

  ०७६ साउन ५ गते

भगवतीमाई गाउँपालिका–४ जगनाथकी ज्योतीकला खत्री ८२ वर्षकी भइन् । उनका पति मनिराम खत्री ८४ वर्षका भए ।

उनीहरूले ७० वर्ष उमेर पुगेदेखि नियमित रूपमा ज्येष्ठ नागरिक भत्ता पाइरहेका थिए । असारको पहिलो साता नै सबैको घरघरै पुगेर गाउँपालिकाका कर्मचारीले हातहातै भत्ता दिए ।

साउन लागिसक्दा पनि आफूहरूलाई भत्ता किन नदिएको भनेर वडा कार्यालय पुगेपछि उनीहरूलाई भत्ता होइन, अब कहिल्यै भत्ता नपाउने कागज थमाइयो । त्यस्तो कागज थियो ‘दम्पतिको मृत्यू दर्ता !’

मृत्यू दर्ता विवरणमा ज्योतीकला ०७५ चैत २५ गते र मनिराम ०७६ वैशाख १० गते मृत्यु भएको व्यहोरा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले प्रमाणित गरेका छन् ।

अनलाइनबाट पञ्जिकरण गरिने भएकाले गाउँपालिकाका सूचना प्रविधि अधिकृत देवेन्द्र सिंहले अनलाइन इन्ट्री गरेको खुलेको छ ।

गएको फागुनमा ज्येष्ठ नागरिक भत्ता खाइवरी जगनाथबाट बर्दियाको बाँसगढी नगरपालिका–९ थमनिया बसाईसरेर जान लागेको व्यहोरा खुलाएर गएको चैतमा दम्पतिले वडाबाट बसाईसराई माग्यो ।

इन्टरनेटको सुविधा गाउँपालिका कार्यालयमा मात्र भएको कारण बसाईसराई गराईदिन वडा कार्यालयले गाउँपालिकालाई सिफारिस गर्‍यो ।

त्यही सिफारिसको आधारमा सूचना प्रविधि अधिकृत देवेन्द्र सिंहले बसाईसराई देखाउनुपर्नेमा अनलाइनमा इण्ट्री गर्दा मृत्यू दर्ता जनाएकाले त्यही विवरण तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले कम्प्यूटरमा ‘ओके’ थिचेर प्रमाणित गरे । इण्ट्रीमा गल्ती भएको सूचना प्रविधि अधिकृत सिंहले स्वीकारे ।

सूचना प्रविधि अधिकृत सिंहले बसाइसराई भर्नुपर्नेमा अनलाइनमा इण्ट्री गर्दा मृत्यू जनाएको कारण अहिले पञ्जिकरणको अनलाइनमा सम्बन्धित व्यक्ति मरिसकेको उल्लेख भएपछि अहिले यो विवरण कसरी सच्याउने भन्ने गाउँपालिकालाई टाउको दुखाईको विषय बनेको छ ।

बसाइसराई दिनुपर्नेलाई मृत्यू दर्ता इण्ट्री कसरी पर्न गयो यसबारे लिखित स्पष्टीकरण मागिएको र यसमा लापरवाही गर्नेहरूलाई कारवाही गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताए ।

खत्री दम्पतिको विवरण सच्याउन केन्द्रीय पञ्जिकरण विभागमा लेखी पठाइएको पनि उनले जानकारी दिए ।

चैतमा पेश गरेको बसाइसराईको कागज किन नदिएको ? अनि असारमा पाउनुपर्ने ज्येष्ठ नागरिक भत्ता नपाएको ? भनेर सोधपुछ गर्दा साउन ३ गते मात्र यो सबै कुरा थाहा भएको ज्योतीकलाकी छोरी नानकला अधिकारीले बताइन् ।

तीन छोरी र तीन छोराहरू सबैले विवाह गरी बाहिरै बस्ने गरेको कारण गाउँमा बस्दै आउनुभएको ज्योतीकला र मनिरामलाई जेठो छोरा पदम खत्रीले आफूसँगै बस्ने गरी बर्दिया बोलाएका कारण दम्पतिले बसाइसराई मागेका थिए ।

‘त्यो बेला उतै पठाइदिउँला भने तर अहिलेसम्म नपाएपछि बसाइसराई र भत्ता माग्न जाँदा यस्तो भोग्नु पर्‍यो ।’–नानकलाले भनिन् ।

गाउँपालिका अध्यक्ष थापाले विभागबाट विवरण सच्याएर बाचुञ्जेल नियमित सामाजिक सुरक्षा भत्ता पाइरहने व्यवस्था गरिने र पछिल्लो चार महिनाको भत्ता विवरण गल्ती इण्ट्री गर्ने कर्मचारीलाई तिराउने तयारी भएको बताए ।


अमर सुनार