भतिजको हत्या गरेको अरोपमा काकी गिरफ्तार

  ०७३ माघ २४ गते

पातो गाविस-५ का तीन वर्षीय रामअवतार खंग मण्डलको हत्या गरेको आरोपमा उनकी २५ वर्षीया काकी उर्मिलादेवी खंग मण्डललाई प्रहरीले माघ २४ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरायसी विवादमा माघ २३ गते बालकलाई घरभित्रै घाँटी थिचेर हत्या गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको छ ।

मृतक बालकका ५० वर्षीय हजुरबुवा रामदेव खंग मण्डलको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले माघ २४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको प्रहरीले जनायो ।

मृतकका बुवा धर्मदेब खंग मण्डल र काका अशोक खंग मण्डल सिलाई कटाईको कामका लागि भारतको मुम्बईमा बस्दै आएका छन् । मृतकका हजुरबुबा रामदेव खंग मण्डल गाउँकै लक्ष्मी इँटा भट्टामा काम गर्न गएको, हजुरआमा बिनादेवी घाँस काट्न गएको र मृतककी आमा चन्द्रिकादेवी पात लिन जङ्गल गएको मौका छोपी आरोपितले योजनाबद्ध रूपमा हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी दिवेश लोहनीले जानकारी दिए ।

आरोपितले घरमा ठूला मानिस नभएको मौका पारी बालकको हत्या गरी पुरानो साडीमा पोको पारेर सेतो प्लाष्टिकको बोरामा हाली घरको पछाडि रुखको सुकेको पत्ताको थुप्रोमा लुकाएको प्रहरीले जनायो ।

गिरफ्तार भएकी उर्मिलाकै पाँच वर्षीय छोरा विकासले कुटपिट गरी आमाले हत्या गरेर पत्ताको थुप्रोमा लुकाएको बयान दिएपछि लाश फेला परेको र आरोपितलाई गिरफ्तार गरिएको एसपी लोहनीले जानकारी दिए ।

आरोपितले भतिजलाई हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिजय श्रेष्ठले बताए । शवको पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा राखिएको छ । मृतकका एक भाइ र एक बहिनी छन् ।

 


मनोहरकुमार पोखरेल