भक्तपुरमा कोरोना भाइसर जाँचको लागि क्वारेन्टाईन निर्माण

  ०७६, माघ २९ गते

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटी स्थिती नेपाल विद्युत प्राधिकरणको चार ओटा भवनमा क्वारेन्टाईन निर्माण कार्य पुरा गरेको छ ।
चीनबाट आगामी फागुन ३ गते उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चार ओटा ब्लकमा १ सय ९९ ओटा बेड तयार पारेको भक्तपुरका एसपी सविन प्रधानले बताउनु भयो ।
प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग, होस्टेल भवन, क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरमा क्वारेन्टाईन बनाएको नेपाल विद्युत प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले बताउनु भयो ।
नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमानका चालक दलका सदस्य गरी ८५ जनालाई तालिम दिएको र चीनबाट स्वदेश फर्किन चाहने १ सय ८५ नेपालीलाई एकै पटक नेपाल ल्याएर विमानस्थलमा स्वास्थ्य जाँच गरी सिधै खरिपाटीमा बनाएको क्वारेन्टाइनमा १४ दिन राखेर स्वस्थ्य भए मात्रै घर पठाईने तयारी गरिएको छ ।

Corona Birod-00 (1) यता जहाजका पाईलटलगायतको टोलिलाई चाँगुनारायण–६ नगरकोटको खानेपानी तालिम केन्द्रमा राख्ने तयारी गरिएपछि स्थानीयले बिरोध जनाएका छन् । नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको मुख्य गेटमा कालो व्यानर टाँगिएको छ । व्यानरमा पाँच ओटा नाराहरु लेखिएका छन् । गेटको दायाँ बायाँ भित्ता र रुखहरुमा पर्चा, पम्पलेट टाँसिएका छन् । गेटमा प्रहरीहरु तैनाथ छन् । ‘हामी यही ठाउँमा बस्छौ, चीनबाट सरकारले फर्काउन लागेका नेपालीलाई यही राख्ने भएछ, यहाँ रोग फैलियो भने त हामी सबै सिधिन्छौ, सरकारले हाम्रो सुरक्षाको बेवास्ता किन गरेको ?’ स्थानीय ५६ वर्षीय राजाराम कार्कीले भन्नुभयो ।
स्थानीय बासिन्दालाई भाईरस संक्रमित होईन, स्वस्थ्य नागरिक ल्याएर परीक्षणमा राख्ने बारे जनचेतना मात्रै दिन सकेको भएपनि यति धेरै त्रास र आक्रोस नहुने चाँगुनारायण नगरपालिकाकी महिला जनप्रतिनिधी कमला गिरीले बताउनुभयो । Press Bigyapti

यसैबीच क्वारेन्टाईन निर्माणको काम भईरहेको स्थानमा सञ्चारकर्मी र मानव अधिकारकर्मीलाई प्रवेश निषेध गरेको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले समाचार संकलनमा गएका सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई रोक लगाएको भन्दै खेद व्यक्त गरेको छ । महासंघका सचिव कृष्ण नेपालले माघ २९ गते प्रेस विज्ञप्ति जारी गर्दै क्वोन्टाइनको अवस्था जानकारी लिने अधिकारबाट बञ्चित नगर्न आग्रह गरेको छ । महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे र भक्तपुरका एसपी सविन प्रधानले माथिको आदेश त्यस्तै भएकाले केही बोल्न र भित्र जान दिने अवस्था तत्काल नभएको प्रतिक्रिया दिएको बताउदै समाचार संकलन गर्ने अधिकारबाट बञ्चित गर्नु नहुने बताए । गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले प्रहरी, प्रशासन र सरकारले मानव अधिकार हनन् गर्दै सूचना लिने अधिकारबाट बञ्चित गरेको बताए ।


रमेश गिरी