भएका एम्बुलेन्स प्रयोगमा नल्याउँदा बिरामीलाई सास्ती !

  ०७५ जेठ ८ गते

सदरमुकाम खाँदबारी भित्र सरकारी र निजी गरेर पाँच ओटा एम्बुलेन्स सञ्चालनमा छन् । पाँच ओटा एम्बुलेन्स भएपनि बिरामी बोक्नलाई चाहिएको बेलामा भने काम दिँदैनन् ।

गतसाता धुपुका गिरीराज पोर्तेलकी छोरी सामना घरको एकतल्ला माथिबाट झरेर घाइते भइन् । खेल्ने क्रममा उनी घरको माथिल्लो तलाबाट खसेकी थिइन् ।

उनको उपचार जिल्ला अस्पतालमा सम्भव नभएपछि कि त धरान कि त विराटनगर लैजान चिकित्सकले सल्लाह दिए ।

त्यसपछि जिल्ला अस्पतालमा भएको एम्बुलेन्सबाट लैजाने उनले निर्णय गरे । तर, एम्बुलेन्स केही अघि दुर्घटनामा परेपछि मर्मतमा तराई लगिएको जानकारी पाए ।

गोपाल भगत मेमोरियल अस्पतालको पनि एम्बुलेन्स बिग्रिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको एम्बुलेन्स एक वर्षयता प्रयोगविहीन छ । एम्बुलेन्स बिग्रिएपछि रेडक्रसले एम्बुलेन्स मर्मत गर्न सकेको छैन ।

खाँदबारी नगरपालिकामा भएको एम्बुलेन्स कार्यविधि नबनेका कारण त्यसै थन्किएको छ । ६ महिना अघि एम्बुलेन्स ल्याइएपनि कार्यविधि नहुँदा सञ्चालनमा छैन । त्यसलाई पनि त्यत्तिकै राखिएको छ ।

घिमिरे समाज कल्याण समितिको एम्बुलेन्स पनि बिग्रिएको छ । मनकामना हस्पिटल तुम्लिङ्टारको एम्बुलेन्स पनि चालक नभएर त्यसै थन्किएको छ ।

तीन महिनायता एम्बुलेन्स सञ्चालन गर्न नसकिएको मनकामना हस्पिटल प्रा.लिका अध्यक्ष राजकुमार घिमिरेले बताए ।

सबैतिरको एम्बुलेन्सको खोजी गर्दा नभेटेपछि पोर्तेलले महङ्गोमा बलेरो जिप रिजर्भ गरेर छोरीलाई उपचारका लागि लगे ।

‘एम्बुलेन्समा सबै सुबिधा हुन्थ्यो ।’–उनले भने–‘जिपमा काखमै बोकेर धरानसम्म उपचारका लागि लैजानु पर्‍यो । गरिवलाई जताजतै समस्या र सास्तीमात्र छ ।’

नगरपालिकामा एम्बुलेन्स छ भनेर देखाउन मात्र खाँदबारी नपाले राखेको उनले आरोप लगाए । एम्बुलेन्स कतै नभएपछि बलेरो गाडी २५ हजार रुपियाँमा रिजर्भ गरेर लगेको उनले बताए ।

खाँदबारी भित्र भएका पाँच ओटा एम्बुलेन्स सेवा विभिन्न कारण देखाउँदै बन्द भएको उनले बताए । ‘कहिले सडक हिलाम्मे छ भनेर बन्द गरिन्छ । कहिले मर्मतमा छ भनिन्छ ।’–उनले भने–‘हुनेखानेहरू जसरी पनि जान्छन् । विपन्नलाई ऋणको भार थपिएको छ ।’ सडक पनि कच्ची भएकाले बिरामीलाई धनकुटाको हिलेसम्म जान कठिन यात्रा गर्नुपरिरहेको छ ।

दुर्घटनापछि अस्पतालको एम्बुलेन्स मर्मतको क्रममा छ । गत वर्ष खाँदबारी नगरलाई चिनिया राजदुतावासले एम्बुलेन्स उपलव्ध गराएको थियो ।

एम्बुलेन्स नभएपछि अस्पतालबाट रिफर भएका बिरामीले निजी यातायातका साधन रिजर्भ गरेर लैजानु पर्ने बाध्यता छ । खाँदबारी अस्पतालबाट मात्रै दैनिक १० जना भन्दा बढी बिरामी रिफर गरिन्छ ।

एम्बुलेन्स नगुडेपछि अहिले तुम्लिङटार विमानस्थलबाट बिरामी विराटनगर तथा काठमाडौँ पठाइने गरिएको छ ।

यहाँ सञ्चालित बुद्ध र यति एयरले उडान थपेर बिरामीलाई सेवा दिइरहेका छन् । बुद्ध एयर तुम्लिङटारका राजीव पोखरेलका अनुसार दैनिक तीन जनाभन्दा बढी बिरामी अस्पतालबाट रिफर भएर एयरपोर्ट पुग्ने गरेका छन् ।

‘ती बिरामीलाई सकेसम्म पठाउने गरेको उनले बताए । त्यसै पनि मौसमका कारण उडानहरू अवरुद्ध हुन्छन्’–उनले भने–‘बिरामीलाई पनि अन्तिम अवस्थामा विमानस्थल ल्याइन्छ । उनीहरूलाई अहिलेसम्म प्राथमिकतामा राखेका छौँ ।’

यसैलाई मध्यनजर राखेर तुम्लिङटार–काठमाडौँको उडान सातामा १० पुर्‍याइएको उनले बताए । यसअघि सात उडान थियो । यति एयरलाइन्सले पनि सातामा ३ देखि ५ उडान थप्ने गरेको छ ।


बाबुराम बास्तोला