बौद्धिक अपाङ्गताका कारण १७ वर्षदेखि एउटै कोठामा !

  ०७६ भदौ २४ गते

नेपालगन्ज उप महानगरपालिका-२० नयाँबस्तीमा दाजुभाइलाई कोठामा थुनिएर राखिएको छ । ६६ वर्षीय कमल राईका २१ वर्षीय छोरा रवि राई १७ वर्षदेखि कोठामा थुनिएका छन् । कमलका १४ वर्षीय छोरा सरोज राई पनि सोही कारण कोठामा नै थुनिएका छन् ।

'बौद्धिक अपाङ्गता भएकाले कतै गाउँमा गएर सताउने, जे पायो त्यहि खाइदिने भएको हुनाले हिँडडुल गर्ने भएदेखि घरमै थुनेर राख्नुपरेको हो ।'-५२ वर्षीया आमा सावित्री राईले दुखेसो पोखिन् ।

Photo20190910Banke

साबित्रीका दुई छोरा र दुई छोरी गरी चार सन्तान रहेका छन् । दुई छोरीको विहे भएपछि बौद्धिक अपाङ्गता भएका दुई छोरा र रोगी पतिको स्याहारसुसार गर्ने जिम्मेवारी उनको काँधमा आएको छ ।

उनले आफू काममा जाँदा घरमा हेरचाह गर्ने कोही नभएको हुँदा दुई दाजुभाइलाई कहिलेकँही डोरीमा बाँधेर काममा जानुपर्ने बाध्यता रहेको बताइन् ।

'धेरै सङ्घसंस्थाका मानिस, प्रतिनिधि आएर आश्वासन मात्र दिए तर केही कतैबाट सहयोग भएन अब त सहयोगको आश पनि मरिसक्यो ।'-उनले भनिन् ।

उनिले आर्थिक अवस्था कमजोर रहेको हुँदा दुई छोराको उपचार गराउन र उनीहरूको स्याहार गर्न कठिन भएकाले सहयोगको लागि समेत अपिल गरिन् ।

विपन्न परिवारकी साबित्रीले गाउँमै दुःख गरेर दुई छोरा र रोगी पतिको स्याहारसुसार एक्लै गर्नु परेको छ ।

उनले अपाङ्गता भएकाहरूको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूले पनि कुनै वास्ता नगरेको गुनासो गरिन् । सरकारी निकायहरूले दुई दाजुभाइलाई बन्धन मुक्त अवस्थामा बाँच्ने सुनिश्चितता गरिदिन सकेहुन्थ्यो साबित्रीले निरास हुँदै भनिन् ।

हामिलाई आर्थिक सहयोग चाहिएको हैन आफ्ना दुई छोराको औषधि उपचार गर्दिए केही सुधार हुन्थ्यो साबित्रीका पति कमल राईले बताए ।

उनले भने-'म बिरामी छु । बुढेसकालमा साथ दिने दुवै छोरा बौद्धिक अपाङ्ग छन् । छोराहरूले हेरचाह गर्ने बेलामा आफूले छोराहरूको हेरचाह गरेर बस्नु परेको छ ।'

उनले सरकारी निकायबाट कुनै पनि सहयोग नपाएको बताउँदै आफ्नो छोराहरूलाई कुनै संस्थामा लगेर निःशुल्क उपचार गराइदिन आग्रह गरे ।

नेपालगन्ज उपमहानगरपालिका-२० का वडा अध्यक्ष कृष्ण कार्कीले भने सबैभन्दा बढी बौद्धिक अपाङ्गता भएका व्यक्ति आफ्नो वडामा भएकाले आफूले निस्वार्थ भावले उनीहरूलाई सहयोग गरेको बताए ।

उनले वडामा रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको सर्वेक्षण गरेर सूची तयार पारेपछि आवश्यक रकम छुट्याएर सहयोगमा लागि पर्ने बताए ।

बौद्धिक अपाङ्गता भएका सरोज राई र रबी राईको उपचार नेपालगन्जमा नहुने भएकाले उनीहरूलाई उपचारको लागि बाहिर लग्नको लागि आफूले सहयोग गर्ने बताए । अध्यक्ष कार्कीले वडाका बौद्धिक अपाङ्गता भएका व्यक्तिको समस्यालाई खुलेर बताउन समेत आग्रह गरे ।


स्मृति देवकोटा