'बोक्सी' भनी अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

  ०७३ साउन ७ गते

कुपिण्डे गाविस-५ की २० वर्षीया सेती परियारलाई कथित बोक्सीको आरोपमा सिस्नोपानीले कुटपिट गरी अभक्ष खुवाएको घटनाका पाँच जना आरोपितलाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबहादुर खत्रीका अनुसार गिरफ्तार पर्नेमा कुपिण्डे गाविस-५ का २९ वर्षीय रुपलाल दमाई, सोही ठाउँकी ३५ वर्षीया गङ्गा दमाई, २१ वर्षीया रुपा थापा, २३ वर्षीया पिमकली बुढाथोकी र ४५ वर्षीया लाली पुन रहेका छन ।

सेती परियारलाई बोक्सी र भुत लागेको र बोक्सी तथा भुत भगाउन सिस्नोपानीले हान्नुपर्छ भन्दै जेठ २३ गते सिस्नोपानीले कुटपिट गरी अभक्ष खुवाइएको भन्दै पीडितका परिवारले साउन ६ गते घटनामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।


मीना बुढाथोकी