बैतडीका ४२ वडामा सचिव नहुँदा सेवाग्राही समस्यामा

  ०७४ वैशाख ११ गते

जिल्लाका स्थानीय तहमा रहेका ८४ वडामध्ये ४२ वटा वडामा वडा सचिव नहुँदा सेवाग्राही मारमा परेका छन् । सरकारले स्थानीयस्तरमै सरकारी सेवा प्रदान गर्ने भनेपनि कर्मचारीको अभावमा सेवा पाउन नसकेको सेवाग्राहीको गुनासो छ ।

'हाम्रो गाउँपालिकाको ६ वडामध्ये एकमा पनि सचिव छैन । प्राविधिक सहायकहरूलाई सचिवको काम गर्ने गरी जिम्मेवारी तोकेका छौँ ।'-शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिहं साउदले भने-'अन्य काम प्राविधिक सहायकमार्फत गराएपनि घटना दर्ताका लागि समस्या भएको छ ।

'घटना दर्ताका लागि पञ्जिकाधिकारी हुनुपर्छ तर हाम्रोमा एकजना पनि सचिव छैनन् कसरी काम चलाउनु ?'-सचिव नहुँदा वडाले दिनुपर्ने सेवा प्रभावित भएको बताउँदै अध्यक्ष साउदले भने-'जनप्रतिनिधि आएको १० महिना बितिसकेको छ ।'

'कर्मचारीको व्यवस्थापन गर्न सकिएको छैन । सुरूमै नागरिक निराश हुन थालेका छन् ।'-उनले भने-'कर्मचारी व्यवस्थापनका लागि जिल्लामा कुरा राखेपनि अहिलेसम्म समस्या समाधान भएको छैन ।'

पञ्चेश्वर गाउँपालिकामा पनि ६ वटा वडामध्ये ३ वटा वडामा सचिव छैनन् । सचिव भएका वडामा समेत सचिव कार्यालयमा नबस्ने गरेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले गुनासो गरे । उनले भने-'आधामा सचिव छैनन् । भएका वडामा पनि पनि बस्दैनन् । विद्युत, इन्टरनेट आदिको समस्या देखाउँछन् ।'

कर्मचारीको अभावमा सेवाग्राहीलाई सेवा दिन नसकिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । 'सिगास गाउँपालिकाका ९ वटा वडामध्ये ७ वटा वडामा सचिव छैनन् । गाउँपालिकामा पनि कर्मचारीको त्यस्तै समस्या छ । म आफैँ पनि चिट्ठीपत्र दर्ता गर्नेदेखि लिएर अरु काम समेत गरिरहेको छु । सेवाग्राहीलाई व्यक्तिगत घटना दर्तामा साह्रै समस्या भएको छ ।'-उनले भने-'जनताले काम भएन भन्ने गुनासो गर्छन् । स्थानीय तहमा कर्मचारी नै नहुँदा साह्रै सकस परेको छ । कर्मचारीको अभावमा सेवा दिन गाह्रो छ ।'

दशरथचन्द नगरपालिकाका पनि सबै वडामा सचिव छैनन् । 'कर्मचारी आउने जाने क्रम चलिरहेको छ । एक/दुई वडामा सचिव कम छन् । यस्तै काम चलाइरहेका छौँ ।'-प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले भने-'कर्मचारीको अभावमा सेवा प्रदान गर्न समस्या भइरहेको छ । निजामति कर्मचारी आउने जाने क्रम चलिरहेको छ ।'

पुरचौंडी नगरपालिकामा पनि १० वडामध्ये ७ वडा सचिवविहीन रहेका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए । उनले भने-'जनप्रतिनिधिहरूले नीति नियम, योजना बनाउने हो । तर, कार्यान्वयन गर्ने त कर्मचारीले नै हो । वडामा सचिव नहुँदा काम गर्नै गाह्रो भएको छ ।'

दोगडाकेदार गाउँपालिकामा पनि दुई वडामा सचिव छैनन् । सचिव भएका वडाका कर्मचारी पनि गाउँपालिकामा काजमा ल्याइएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । 'गाउँपालिकामा एकजना लेखापाल मात्रै नयाँ कर्मचारी छन् । अरू सबै काम वडाका सचिव र प्राविधिकबाट चलाइरहेका छौँ ।'

उनले भने-'कर्मचारी नहुँदा काम गर्न समस्या भएको छ ।' डिलासैनी गाउँपालिका ७ वडा मध्ये ४ मा सचिव छैनन् भने सुर्नया गाउँपालिकाका पनि ३ वडामा सचिव छैनन् । वडा कार्यालयमा सचिव नहुँदा कामकाजका लागि गाउँपालिका धाउनुपरिरहेको स्थानीयबासीले गुनासो गरेका छन् । 'पहिलापहिला व्यक्तिगत घटना दर्ता गर्न गाविसमा पुग्नुपथ्र्यो । सहजै दर्ता पनि हुन्थ्यो । अहिले सचिव नहुँदा गाउँपालिकामा कर्मचारी खोज्दै हिँड्नु परिरहेको छ ।'-सेवाग्राहीको गुनासो छ ।

सिगास गाउँपालिका थालाकाँडाका पदम रोकायाले भने-'सिंहदरबार गाउँमा आयो भन्थे । खोइ हाम्रो समस्या त अझै समाधान भएका छैनन् ।' स्थानीय तह र वडामा सचिव नभएको विषयमा जिल्लामा पटकपटक छलफल गरेको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए ।

उनले भने-'हामी स्थानीय तहमा कर्मचारीको अभावका विषयमा जानकार छौँ । तर, माथिबाटै कर्मचारी आएका छैनन् । स्थानीय तहमा कर्मचारीको समस्या समाधानका लागि पहल गर्छौँ ।' चुनावताका सबै काम गाउँमै हुन्छ भनेर विश्वस्त भएका नागरिकहरू अहिले कर्मचारीको अभावमा काम नहुँदा समस्यामा परेका छन् ।


नरी बडु