बैतडीका स्वास्थ्य संस्थामा आइरन चक्कीको चरम अभाव

  ०७४ पुस १३ गते

बैतडीका स्वास्थ्य संस्थाहरूमा गर्भवतीले खाने आइरन चक्कीको चरम अभाव भएको छ । गर्भवती भएको ३ महिनादेखि नै खानुपर्ने आइरन चक्की अभाव हुँदा यहाँका गर्भवती महिलाहरू समस्यामा परेका छन् ।

सिगास गाउँपालिका-२ की कलावती धामी आइरन चक्की लिन गाँजरी स्वास्थ्यचौकी पुगिन् । तर, स्वास्थ्यचौकीमा आइरन चक्की नहुँदा उनी रित्तै हात फर्किनुपर्‍यो । 'गर्भवती भएको ३ महिनादेखि आइरन चक्की खानुपर्छ भन्ने कुरा थाहा पाएकी थिएँ । सरकारले निःशुल्क उपलब्ध गराउँछ भन्ने सुनेर स्वास्थ्यचौकीसम्म पुगेँ । तर, स्वास्थ्यचौकीमा आइरन चक्की नै पाइएन ।'-उनले भनिन् ।

कलावतीजस्तै आइरन चक्कीका लागि गाँजरी स्वास्थ्यचौकीमा पुगेकी नमना धामी पनि रित्तै हात फर्कनुपर्‍यो । 'सरकारले गर्भवती महिलाका लागि निःशुल्क आइरन चक्की उपलब्ध गराउँछ भन्ने सुनेकी थिएँ । तर चक्की नपाउँदा रित्तै फर्किन बाध्य भएका छौँ ।'-उनले भनिन्-'गर्भावस्थामा आइरन चक्की खानुपर्छ भन्ने कुरा सुनेकी छु । तर नजिक मेडिकलमासमेत नहुँदा साह्रै असजिलो भएको छ । सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाउने भनिएका औषधिको जहिले पनि अभाव हुन्छ ।'

आइरन चक्कीको अभाव हुँदा गर्भवती महिलालाई रित्तै फर्काउनुपर्ने बाध्यता रहेको गाँजरी स्वास्थ्यचौकीका इञ्चार्ज जनकसिंह धामीले बताए । 'गर्भ बसेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म आइरन चक्की खानुपर्छ । यहाँ सरकारले निःशुल्क उपलब्ध गराउने चक्कीको अभाव छ । एक महिनाअघि मात्रै गाउँपालिकाले थोरै औषधि किनेको थियो । त्यो पनि सकिने अवस्थामा छ । स्वास्थ्य संस्थामा अन्य औषधिको पनि अभाव छ ।'

सुर्नया गाउँपालिका-६ शङ्करपुरकी जानकी अवस्थी पनि स्वास्थ्य संस्थामा गर्भजाँच गराउन गइन् । उनी पनि आइरन चक्की नपाएपछि रित्तै हात घर फर्किइन् । केही दिनअघि स्वास्थ्य संस्थामा १ हजार चक्की आइरन पुगेको, पहिला आएका गर्भवती महिलालाई आइरन चक्की वितरण गर्दा सकिएको अनमी सुनिता भट्टले जानकारी दिइन् ।

'गर्भवती महिला आइरन चक्कीका लागि स्वास्थ्य संस्थामा पुग्छन् । तर, आइरन चक्कीको अभाव हुँदा उनीहरूलाई त्यसै फर्काउनुपरेको छ ।'-उनले भनिन् ।


नरी बडु